धुर्मुसलाई अर्थमन्त्री र व्यापारीले सहयोग गर्ने, क्रिकेट रंगशाला प्रदेश १ मा बनाउन आग्रह

१६ चैत्र २०७४, शुक्रबार ११:३९

चैत १६, काठमाडौं ।

कलाकार सिताराम कट्टेल (धुर्मुस) अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा सामाजिक सञ्जालबाट गरेपछि प्रदेश १ मा राम्रै तरंग आएको छ ।

स्थानीय उद्योगी-व्यवसायी तथा खेलप्रेमीहरुले प्रदेश १ मा रंगशाला निर्माण गरे आवश्यक सहयोगको प्रतिवद्धता व्यक्त गरेका छन् ।
धुर्मुस-सुन्तली फाउन्डेसनले यस अगाडि चार वटा वस्ती बनाएको नजिर र कामको विश्वसनीयता भएकाले सहयोग गर्न तयार रहेको उनीहरुको भनाइ छ ।

मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडा अन्तर्राष्ट्रिय रंगशाला नेपालको आवश्यकता भएकाले यसमा सहयोग गर्न तयार रहेको बताए । कुरा गर्दै सारडाले एक दिवसीय मान्यता पाएको नेपाली क्रिकेटलाई अनिवार्य अत्याधुनिक रंगशाला चाहिएकाले आफ्नो र संस्थाको सक्रिय सहयोग हुने उल्लेख गरे ।

सारडाले भने, ‘जग्गा चाहिए जग्गा, आर्थिक सहयोग चाहिए आर्थिक सहयोग र प्राविधिक सहयोग चाहिए प्राविधिक सहयोग सबै गर्न मोरङ व्यापार संघ तयार छ ।’

विराट गोल्डकप आयोजक समितिका अध्यक्ष नवीन रिजाल अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्ने अवस्था आएमा सहयोग गर्न तयार भएको बताउँछन् । उनले भने, ‘आज मोफसलमा पहिलोपटक फ्लड लाइट जडान गरेर नयाँ काम हामीले थालेका छौँ । अझ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्ने हो भने हामी झनै सहयोग गर्छौ ।’

उद्योग वाणिज्य सङ्घ प्रदेश १ का एसोसिएटतर्फका उपाध्यक्ष तथा प्रदेश १ का सांसद लिलम बस्नेत पनि क्रिकेट स्टेडियममा सहयोग गर्न आतुर भएको बताउँछन् । ‘नेपाली खेल जगतको अहिलेसम्मको उत्कृष्ट परियोजना नै अत्याधुनिक र बहुउपयोगी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम हुनेछ’ सुनसरी ३ (क) का प्रत्यक्ष निर्वाचित सांसद बस्नेतले भने, ‘त्यसैले यो परियोजनाको लागि तन, मन र धनले सहयोग गर्न म तयार छु ।’

यस्तै, उद्योग वाणिज्य संघ झापाका अध्यक्ष राजु पनेरु र उद्योग वाणिज्य संघ सुनसरीका महासचिव शिभराज श्रेष्ठ पनि आफूहरूले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन सक्दो सहयोग गर्ने बताए । ‘नेपाली क्रिकेटको चामत्कारिक विकासको कारणले गर्दा हामीले क्रिकेटका पूर्वाधार निर्माण गर्नैपर्छ’ पनेरुले भने, त्यसको लागि आवश्यक अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन म र मेरो संस्थार् सहयोग गर्न तयार छौँ ।’

प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बोले पनि धुर्मुस-सुन्तलीले प्रदेशमा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन खोजेमा सक्दो सहयोग गर्ने बताए ।

अन्तर्राष्ट्रिय क्रिकेट मैदानको लागि पूर्वी तराई उपयुक्त हुने उनको तर्क छ ।