ब्राजिलले जर्मनीसँग चार वर्षअघिको बदला लियो

१४ चैत्र २०७४, बुधबार ०७:३३

चैत १४, काठमाडौं ।

मैत्रीपूर्ण खेलमा ब्राजिलले जर्मनीलाई १-० ले पराजित गरेको छ । ब्राजिलले चार वर्षअघि विश्वकप फुटबलमा जर्मनीसँग हारको बदला मात्र लिएन, जर्मनीको पछिल्लो अपराजित यात्रामा पनि पूर्णबिराम लगाइदियो ।

ब्राजिलको जितमा ३७ औं मिनेटमा गाब्रिएल जिससले गरेको गोल नै निर्णायक बन्यो । जिससले गोल गर्ने अर्को एक मौका भने खेर फाले ।

पछिल्ला २३ खेलमा जर्मनी हारेको थिएन । सन् २०१६ को युरोकपमा भने फ्रान्ससँग २-० ले हारेको थियो ।

चार वर्षअघि विश्वकप फुटबलमा ब्राजिललाई जर्मनीले ७-१ ले हराएको थियो । त्यसयता ब्राजिल र जर्मनीबीच खेल भएको थिएन । मंगलबार राति बर्लिनमा भएको मैत्रीपूर्ण खेलमा घरेलु मैदानमै जर्मनी ब्राजिलसँग हार्‍यो ।

विश्वकपको साविक विजेता जर्मनीलाई हराएर ब्राजिलले रुसमा हुन लागेको आगामी विश्वकपका उपाधि दाबीलाई प्रस्तुतसमेत गरेको छ ।