चैत १३, काठमाडौं ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले शान देखाउन ठूला घर बनाउनुको साटो उद्यममा लगानी गर्न आग्रह गरेका छन् ।
रुपन्देहीको मंगलापुरस्थित लुम्बिनी हेल्थ वाटर किङडमको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले नेपालमा पर्यटनका ठूला ठूला गफ मात्रै हुने गरेको तर पर्यटकीय पुर्वाधारमा पर्याप्त लगानी नभएको बताए ।
‘भाषणले मात्रै पर्यटन प्रवर्द्धन हुंदैन’ उनले भने, ‘पर्यटकलाई आवश्यक पर्ने पुर्वाधारहरुमा लगानी गर्नुस्, तब पर्यटनबाट लाभ लिन सकिन्छ ।’
लुम्बिनी र अन्य पर्यटकीय स्थलबारे भाषण धेरै समर्पण ज्यादै न्यून भएको मुख्यमन्त्री पोखरेलले टिप्पणी गरे ।
मुख्यमन्त्री पोखरेलले नेपालीहरुमा शान देखाउनकै लागि ठूला ठूला घर बनाउने र जिन्दगीभरको कमाई त्यसैमा खन्याउने गलत परम्परा रहेका बताए ।
‘शहरमा मात्र हैन, गाउँमा समेत ठूलाठूला घर बनाएर शान देखाउने परम्परा छ, नेपालीको यो बानीमा परिवर्तन नभएसम्म समृद्धि र विकास हुंदैन’ मुख्यमन्त्री पोखरेलले भने, ‘घरमा लगाउने लगानी उद्योग धन्दामा लगाउने सोंच बनाऔं, तब मात्र समृद्धि हासिल हुन्छ ।’
