स्वर्गद्वारी नगरपालिकाको नीतिः दीर्घ रोगीलाई १० हजार

९ चैत्र २०७४, शुक्रबार ०९:३०

चैैत ९, काठमाडौं ।

स्वर्गद्वारी नगरपालिका प्यूठानले दीर्घ रोगीहरुलाई १० हजार रुपैयाँ उपलब्ध गराउने नीति अख्तियार गरेको छ ।

दीर्घ रोगबाट पीडितहरुलाई उपचारमा सघाउ पुर्‍याउने उद्देश्यले सहयोग रकम उपलब्ध गराउने नीति अवलम्बन गरिएको नगरपालिकाले जनाएको छ ।

नगर क्षेत्रमा रहेका मिर्गाैला, मुटु, पक्षघात र क्यान्सरबाट पीडितहरुलाई उपचार रकम वितरण शुरु गरिएको मेयर नेत्रबहादुर रोकायले जानकारी दिए । हालसम्म १८२ जनालाई १८ लाख २० हजार रुपैयाँ वितरण गरिसकिएको छ ।
‘उपचार गराइरहेकाहरुको अस्पतालको कागजात जाँचबुझ गर्ने गरेका छौं,’ मेयर रोकायले भने, ‘प्राथमिक स्वास्थ्य केन्द्रले त्यसलाई प्रमाणित गर्छ र वडा कार्यालयको सिफारिसमा नगरपालिकाले भुक्तानी गर्ने गरेको छ ।’

दीर्घरोगबाट पीडितहरुलाई उपचारमा राहत पुगोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम संचालन गरिएको उनको भनाइ छ ।

आँखा शिविरमा १४२ जनाको मोतियाविन्दुको शल्यक्रिया

यसैबीच स्वर्गद्वारी नगरपालिकाले आयोजना गरेको आँखा शिविरमा १४२ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।

यसअघि गरिएको आँखा परीक्षण शिविरबाट २७२ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएकाले शल्यक्रिया शिविर गरिएको नगरपालिकाले जनाएको छ ।

लुम्विनी नेत्र विज्ञान अध्ययन प्रतिष्ठान भैरहवा, श्री रण अम्बिका आँखा अस्पताल भैरहवा, नेपाल नेत्र ज्योति संघ प्यूठान, प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवार, नेपाल रेडक्रस सोसाइटी माण्डवी उपशाखाको प्राविधिक सहकार्यमा शिविर संचालन गरिएको मेयर रोकायले बताए ।

शल्यक्रिया गरिएका आँखाका विरामीहरुलाई नगरपालिकाले खाना, आवासको व्यवस्थासमेत मिलाएको थियो ।