चैैत ९, काठमाडौं ।
संघीय समाजवादी फोरमका केन्द्रीय सचिव अजम्बर राई काङमाङले पार्टी छाडेका छन् । उनी शुक्रवार एक कार्यक्रमबीच नेकपा माओवादी केन्द्रमा प्रवेश गर्दैछन् ।
अजम्बरले एमाले र माओवादी दुवै पार्टीका नेताहरुसँग कुरा गरेरै आफू कम्युनिस्ट आन्दोलनमा फर्किन लागेको प्रतिक्रिया दिए ।
५ वर्षअघि नेकपा एमालेमा जातीय सवालमा फरक मत राख्दै अशोक राई, बिजय सुब्बाहरुसँगै विद्रोह गरेका अजम्बरले एकल संकिर्णताबाट मुक्त हुन आफू पुनः कम्युनिस्ट पार्टीमा फर्किएको बताए । माओवादी अध्यक्ष प्रचण्डसँग छलफल भएर केही सैद्धान्तिक विषयमा समझदारीसहित प्रवेश गर्न लागेको उनले पुष्टि गरे ।
अजम्बरले भने, ‘२०१९ सालबाट टुक्रिएको नेपालको कम्युनिस्ट आन्दोलन पुनर्गठनको प्रक्रिया शुरु भएको छ । यो अवसरमा म आफूलाई कम्युनिस्ट पार्टीमै जोड्न चाहान्छु । एउटै कम्युनिस्ट केन्द्रमा रहेर योगदान दिनका लागि म फर्किएको हुँ ।’
संघीय समाजवादी फोरमले उठाएका कतिपय कुरा राम्रा भए पनि बिबिधताकोमात्र कुराले एकल संकिर्णतामा फसिने रहेछ ।
काङमाङ संघीय समाजवादी पार्टी खोल्नुअघि एमालेमा केन्द्रीय कमिटीका सदस्य थिए । युवा संघका पूर्वअध्यक्ष समेत रहेका काङमाङ एमालेभित्र प्रखर बौद्धिक नेताका रुपमा चिनिन्थे ।
तर उनी एमालेमा नफर्की किन माओवादी प्रवेश गर्न लागेका छन् । एमालेसँग पनि सल्लाह भएरै आफू माओवादी प्रवेश गरेको उनले बताए ।
