चैैत ९, काठमाडौं ।
नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य बिग्रिँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको छ ।
खड्काको स्वास्थ्य जटिल बनेको जानकारी पाएलगत्तै गृहजिल्ला दाङका शुभेच्छुक कार्यकर्ताहरुले मन्दिरमा पूजाआजा गरेका छन् ।
मिर्गौला, छाती र नसाको समस्याबाट पीडित खड्काको उपचार भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा भइरहेको छ ।
उनलाई बुधबारबाट भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको एपोलो अस्पतालको काठमाडौंस्थित सूचना केन्द्रका प्रमुख अर्जुनबहादुर चन्दले जानकारी दिए ।
मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता नयाँदिल्ली लगिएको थियो ।
गृहजिल्ला दाङमा पूजाआजा
पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको शीघ्र स्वास्थ्य लाभको कामना गरेर उनको गृहजिल्ला दाङमा पूजाआजा गरिएको छ ।
दाङको विजौरी र कोठरीसहितका विभिन्न मन्दिरहरुमा नेता खड्काको स्वास्थ्य लाभको कामना गरेर बिहीबार पूजा गरिएको हो ।
