घुँडा नटेक्ने प्रधानमन्त्रीको बचनलाई चुनौती

८ चैत्र २०७४, बिहीबार ०८:१८

चैत ८, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रीहरुलाई निर्देशन दिँदै भने, ‘अरु बस कम्पनी आउन नदिने, आफ्ना थोत्रा बसमा कुइना ठोकेर मान्छे राख्छ । अरु खोल्न दिँदैन, हडताल हुन्छ । हडताल भएपछि सरकार घ्वाक्राक्क घुँडा टेक्छ ।’

‘यो सरकार घुँडा टेक्ने सरकार होइन’ भन्दै उनले कुनै सिण्डिकेट मान्य नहुने बताए ।

तर, भोलिपल्टै प्रधानमन्त्रीको प्रतिबद्धतालाई चुनौती दिँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात व्यवस्था विभागमा एउटा ज्ञापन पत्र बुझाएको छ ।

उसले आफ्नो सहमति विना काठमाडौं-बनेपा रुटमा मयुर यातायातलाई दिएको रुट इजाजात खारेज गर्न चेतावनी दिएको छ ।

आफूले व्यवस्थित यातायात सञ्चालन गर्दै आएको तर, आफूहरुसँग परामर्श नै नगरी मयुरलाई रुट इजाजात दिँदा यातायात सेवामा नै प्रत्यक्ष असर परेको उसको दाबी छ ।