छक्का पञ्जा फान अवार्डको २० विधामा मनोनयन

८ चैत्र २०७४, बिहीबार ०७:२९

चैत ८, काठमाडौं ।

आउँदो १६ चैत्रमा काठमाडौंमा हुने दोस्रो फान अवार्डमा दिपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा’ २० विधामा मनोनयनमा परेको छ । नेपाल चलचित्र कलाकार संघको आयोजनामा उक्त अवार्ड हुन लागेको हो ।

अवार्डमा छक्का पञ्जा कथा, पटकथा, संवाद, द्वन्द्व, सम्पादन, छायांकन, नवनिर्देशन, चरित्र अभिनेत्री, सह-अभिनेता -दुई), सह-अभिनेत्री, खलपात्र, हास्य कलाकार -दुई), अभिनेता, अभिनेत्री, चलचित्र, गीतकार, गायक, गायिका, संगीतकार र नृत्य निर्देशक विधाको मनोनयनमा परेको हो ।


प्रदीप भट्टराईको डेब्यु निर्देशन रहेको ‘जात्रा’ र निश्चल बस्नेत निर्देशित ‘लुट २’ १२ विधामा मनोनयनमा परेका छन् । हेमराज बिसी निर्देशित ‘गाजलु’ ९ विधामा मनोनयनमा परेको छ भने आकाश अधिकारी निर्देशित ‘के म तिम्रो होइन र’ ८ विधामा मनोनयनमा परेको छ ।

त्यस्तै, रामबाबु गुरुङ निर्देशित ‘पुरानो डुंगा’ ७, यस्तै नरेशकुमार केसी निर्देशित ‘डाइङ क्यान्डल’ ६ विधाको मनोनयनमा परेको छ ।

संघका अध्यक्ष रामकेशर बोगटीले २०७३ सालमा प्रदर्शनमा आएका ८८ चलचित्रमध्ये ७ सदस्यीय प्रारम्भिक चलचित्र छनोट सिफारिस समितिले छनौट गरेका फिल्महरु निणर्ायक समितिले हेरेर मनोनयन सार्वजनिक गरेको बताए ।