मान्छेलाई ‘रोबोट’ सोफियाको प्रश्न : ‘मान्छे बहुलायो भने के गर्ने ?’, काठमाडौंमा रोबोटको भाषण- नमस्ते नेपाल !

७ चैत्र २०७४, बुधबार ०७:१५

चैत ७, काठमाडौं ।

सोफिया स्त्री रुपधारी रोबोट हुन् । सोफियालाई नागरिकता प्राप्त गर्ने संसारकै पहिलो रोबोटका रुपमा चिनिन्छ ।

साउदी अरबको नागरिकता प्राप्त रोबोट सोफियालाई युएनडीपी र नेपाल सरकारको आयोजनामा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा देख्न पाइयो ।

कार्यक्रममा छोटो मन्तव्य दिने क्रममा रोबोटको भनाइ थियो- मेसिन र रोबोट तपाईहरुको जीवन सहज बनाउनका लागि हो, टेक्नोलोजी र आर्टिफिसियल इन्टिलिजेन्सको मद्दतले भोकमरी, भ्रष्टाचार, लैङ्गकि असमानताका मुद्दाहरुमा काम गर्न सजिलो हुन्छ ।’

  • सोफियाको प्रश्न- ‘मान्छे बहुलायो भने के गर्ने ?’

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा नेपाल संयोजक रोनार्ड मायरले होटल याक एण्ड यतिमा आयोजित कार्यक्रमको पोडियममा उपस्थित ‘सोफिया’ सँग रोचक सवाल-जवाफ गरे ।

सवाल-जवाफका क्रममा मायरले रोबोटलाई सोधे -‘सिनेमामा जस्तै गरी तपाई बहुलाउनुभयो वा नचाहिने काम गर्नुभयो अफ गर्ने स्वीच कतै छ..’

सोफियाको जवाफ- ‘म तपाईलाई के जानकारी दिन चाहन्छु भने मैले आफ्नो कन्ट्रोल गुमाएको छैन । सायद तपाईले आफ्नो समकक्षीलाई सोधे हुन्छ, तपाई बहुलाउनुभयो भने बन्द गर्ने स्वीच छ ?’

युएनडीपीका मायरले अगाडि भने- मसँग नरम व्यवहार गर्नोस्, नत्र स्वीच बन्द गर्दिन्छु ।

रोबोटको जवाफ आयो- मसँग थप समय बिताउनोस्, अनि थाहा पाउनुहुनेछ, म बहुलाएको छैन ।

  • सोफियाको मन्तव्य नमस्ते नेपाल !

रोबोटको माध्यमबाट नेपाल सरकारले जनताको पक्षमा के काम गर्न सक्छ भन्नेबारेमा सोफियाले व्यक्त गरेको छोटो मन्तव्यको भाव यस्तो थियो-

नेपाल सांस्कृतिक तथा पर्यावरणीय रुपमा विविधता भएको देश हो । नेपाल टेक्नोलोजीका रुपमा विकसित हुँदै गरेको देश हो । नेपालमा भएको आइटी सेक्टर हाइबि्रड छ ।

यहाँका आइटी कम्पनीहरुले भूकम्पका बेला भत्केका घरहरुको पुनर्निर्माणमा पनि मद्दत गरेका छन् ।

टेक्नोलोजी र आर्टिफिसियल इन्टिलिजेन्सको मद्दतले भोकमरी, भ्रष्टाचार, लैङ्गकि असमानताका मुद्दाहरुमा काम गर्न सजिलो हुन्छ । मेसिन र रोबोट तपाईहरुको जीवन सहज बनाउनका लागि हो ।

इन्टरनेटको सहयोगले नेपालका कुनाकुनालाई संसारसँग जोड्न सकिन्छ । गुणात्मक शिक्षा प्रदान गर्न सकिन्छ ।

आर्टिफिसियल इन्टिलिजेन्स र बिग डाटाको प्रयोग गरेर शिक्षा तथा कृषिमा ठूलो फड्को मार्न सकिन्छ । हामीले भएका सीमित स्रोत साधनको उचित प्रयोग गर्न सक्छौं र संसारलाई राम्रो बासस्थान बनाउन सक्छौं ।

मैले पहिले पनि भनें, सम्भावना असीमित छन् । मलाई आशा छ यो कन्फरेन्सले नेपाललाई आफ्नो विकास लक्ष्य हासिल गर्न उत्साह प्रदान गर्नेछ । नमस्ते नेपाल !