चैत ५, काठमाडौं ।
यही चैत ८ गतेदेखि सञ्चालन हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी हुने भएका छन् ।
नयाँ पाठ्यक्रमअनुसार पहिलोपटक सञ्चालन हुन लागेको परीक्षाका लागि एक हजार ९५६ केन्द्र निर्धारण गरिएको छ । उक्त केन्द्रमा त्यति नै संख्यामा केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी ६४ हजार ७६२ जनशक्ति परिचालित हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
साधारणतर्फको १७ गतेसम्म र प्राविधिकतर्फको २० गतेसम्म सञ्चालन हुने उक्त परीक्षामा सबैभन्दा बढी परीक्षार्थी प्रदेश नं ३ बाट र कम प्रदेश नं ६ बाट हुने भएका छन् । बोर्डका अनुसार प्रदेश नं ३ बाट एक लाख ८३ हजार २२ जना र प्रदेश नं ३ बाट ३८ हजार ५९२ जना परीक्षार्थी सहभागी हुने भएका छन् ।
त्यस्तै प्रदेश नं १ बाट ८४ हजार २९०, प्रदेश नं. २ बाट ७० हजार ४०२, प्रदेश नं ४ बाट ४८ हजार ९५४, प्रदेश नं ५ बाट ७९ हजार २५१ र प्रदेश नं ७ बाट ५५ हजार ७७५ परीक्षार्थी सहभागी हुँदैछन् ।
जसमध्ये परीक्षामा नियमिततर्फ छात्रमा दुई लाख २७ हजार २०४ र छात्रामा दुई लाख २३ हजार ३११ एक्जेम्टेडतर्फ छात्रमा नौ हजार २४७ र छात्रामा १४ हजार ८२४ रहेका छन् ।
अनुत्तीर्ण परीक्षार्थी र अक्षराङ्कन पद्धतिको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सोभन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि परीक्षामा समेत ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थीका लागिसमेत एक्जेम्टेड परीक्षार्थीका रुपमा परीक्षा दिने व्यवस्था गरिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।
यस वर्ष माध्यमिक शिक्षा पाठ्यक्रम, २०७१ अनुसार नयाँ पाठ्यक्रमअनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन गरिँदैछ । यसअनुसार अनिवार्य विषयतर्फ गणितबाहेक बाँकी सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था रहेको छ । यस्तो प्रयोगात्मक परीक्षाको व्यवस्थापन सम्बन्धित विद्यालय र विषय शिक्षकबाटै नै हुनेछ ।
आगामी वर्षदेखि प्रदेशस्तरमा एसइई परीक्षा सञ्चालन गर्ने तयारी शुरु गरिएको जानकारी दिँदै बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले परीक्षामा बाधा पुग्ने गरी अमर्यादित कार्य गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा छ महिना कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको बताए ।
