चैत ५, काठमाडौं ।
पूर्वराजा ज्ञानेन्द्र शाह राष्ट्रिय प्रजातन्त्र पार्टीको पुनगर्ठन गर्ने अभियानमा सक्रिय बनेका छन् । यसैक्रममा उनले आइतबार साँझ झापामा राप्रपाका विभिन्न तीनवटा गुटका ९ जना नेतालाई बोलाएर सामुहिक छलफल गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र यतिबेला झापाको दमकस्थित उनकै स्वामित्वमा रहेको हिमालय चिया बगानमा बसिरहेका छन् । उनी अझै केही दिन यहीँ रहनेछन् । र, ११ गते बिराटनगरमा आयोजित एक कार्यक्रममा सहभागी हुनेछन् ।
झापा आएका पूर्वराजासँग पार्टी पुनगर्ठनबारे छलफल गर्न राप्रपाका विभिन्न गुटका नेताहरु काठमाडौंबाट आइतबार साँझ चियाबगानमा आइपुगेका थिए । बेलुका ४ बजेदेखि साँझ ७ बजेसम्म चलेको छलफलमा सहभागी नेताहरुलाई पूर्वराजाले चिया र बिस्कुट खुवाएर पठाएको स्रोतले बतायो ।
आइतबार साँझ पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न चिया बगानमा भेला हुने नेताहरुमा कमल थापा नेतृत्वको राप्रपाका बुद्धिमान तामाङ, भास्कर भद्रा र प्रल्हाद शाह थिए ।
त्यसैगरी पशुपतिसमशेर नेतृत्वको राप्रपा प्रजातान्त्रिकका नेताहरु राजाराम श्रेष्ठ, सुरेश आचार्य र सगुन लावती पूर्वराजासँगको छलफलमा सहभागी थिए ।
डा. प्रकाशचन्द्र लोहनीको राप्रपा राष्ट्रवादी पार्टीका तर्फबाट केशव श्रेष्ठ, तारा लुँईटेल र डा. सुष्मा आचार्य पनि पूर्वराजालाई भेट्ने टोलीमा सहभागी थिए ।
राप्रपाका तीनवटै गुटका तीन/तीनजना गरी ९ जना नेताहरुसँग पूर्वराजाले सामुहिकरुपमा तीन घण्टासम्म छलफल गरेको जिल्लास्थित सरकारी गुप्तचर स्रोतले जानकारी दियो ।
