विश्वकै उत्कृष्ट शिक्षक एन्ड्रिया बनिन्, नेपालका विनोद उत्कृष्ट ४० मा

५ चैत्र २०७४, सोमबार ०७:५९

चैत ५, काठमाडौं ।
लन्डनकी एक महिला शिक्षक विश्वकै उत्कृष्ट घोषित भएकी छन् । उनले १० लाख अमेरिकी डलर अर्थात् करिब १० करोड रुपैयाँ पुरस्कार पाइन् ।

दुबईमा आयोजित भार्की फाउन्डेसन ग्लोबल टिचर प्राइजमा लन्डनको अल्पर्टोन सामुदायिक स्कुलमा आर्ट्स र टेक्सटाइल्स पढाउने एन्ड्रिया जाफिराकोउ उत्कृष्ट घोषित भइन् ।

विश्वका उत्कृष्ट शिक्षकहरुको सूचीमा नेपालका विनोद शाही पनि अटाएका छन् । शाही माथिल्लो डोल्पास्थित श्री यांगर गुम्बा प्राथमिक विद्यालयका शिक्षक हुन् ।

पूर्वअमेरिकी राष्ट्रपति एल गोर तथा पूर्व ब्रिटिश प्रधानमन्त्री टोनी ब्लेयर र फर्मुला वान ड्राइभर लेविस ह्यामिल्टनको उपस्थिति रहेको समारोहमा उनले पुरस्कार ग्रहण गरेकी थिइन् ।

समारोहमा बजाइएको बधाई सन्देशमा ब्रिटिश प्रधानमन्त्री थेरेसा मेले जाफिराकोउलाई बधाई दिने सबैप्रति आभार प्रकट गरिन् ।

मेले जाफिराकोउ पुरस्कारको वास्तविक हकदार भएको बताइन् । यो पुरस्कार जित्ने पहिलो बेलायती शिक्षक रहेकी जाफिराकोउले संवाददाताहरुसँग भनिन्, ‘म अचम्मित र भावविभोर भएँ । मलाई आफूले जित्छु भन्ने लागेकै थिएन ।’

आफूले पाएको अवार्ड बेलायतमा कडा मिहिनेत गर्ने सबै शिक्षकहरुलाई उनले समर्पण गरिन् ।