पोखरा लेखनाथ महानगरपालिकाले १३ हजार जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने, ६० वर्ष माथिका नागरिकले पनि सेवा पाउने

४ चैत्र २०७४, आईतवार ०८:५३

चैत ४, काठमाडौं ।

पोखरा लेखनाथ महानगरपालिकाले १३ हजार जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

महानगरपालिकाभित्रका नागरिकको स्वास्थ्य अवस्था बुझ्न र नियमित स्वास्थ्य परीक्षण गरौं भन्ने सन्देश प्रवाह गर्न महानगरपालिकाले स्वास्थ्य परीक्षणको अभियान सुरु गर्न लागेको हो ।

विशेषज्ञ चिकित्सकसहित वडा–वडामा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षणसँगै स्वास्थ्य अवस्थाबारे जानकार रहनुपर्ने जागरण ल्याउन अभियान थाल्न लागेको महानगरपालिकाले जानकारी दिएको छ ।


पोखरा महानगरभित्र ३६ हजार जेष्ठ नागरिक रहेकोमा ७० वर्षमाथिका १३ हजार जेष्ठ नागरिकको वडा–वडामै पुगेर स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।

महानगरभित्रका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य चौकी र अस्पतालबाट विशेषज्ञसहितको चिकित्सकको टोलीले जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने महानगरले जनाएको छ ।

स्वास्थ्य चौकी नभएका ठाउँमा वडा कार्यालयबाट जनप्रतिनिधिको सहयोगमा परीक्षण गर्ने व्यवस्था मिलाइने महानगरले जनाएको छ ।

‘सरकारले ७० वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था त गरेको छ तर स्वास्थ्य अवस्थाबारे जानकारी नहुँदा बिरामी परेपछि मात्रै अस्पताल जाने चलन छ,’ पोखरा महानगरका मेयर मानबहादुर जिसीले भने ।

३३ वडा रहेको देशकै भौगोलिक हिसाबले ठूलो पोखरा महानगरमा चैत ३ गतेदेखि वडा नम्बर १९ पुरन्चौरबाट ७० वर्षमाथिका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने अभियानको सुरुवात गर्ने मेयर मानबहादुरले जानकारी दिए ।

स्वास्थ्य परीक्षणपछि पोखरा महानगरभित्रका जेष्ठ नागरिकको स्वास्थ्य स्थिति र जीवनको गुणस्तरमा सुधार आउने विश्वास महानगरले लिएको छ ।

पोखरा महानगरपालिकामा १९ स्वास्थ्य चौकी, २ प्राथमिक स्वास्थ्य केन्द्र र २ जिल्लास्तरीय अस्पताल छन् भने १५ सहरी स्वास्थ्य केन्द्र छन् ।