‘हाफ टाइमपछि सधैँ छुट्टी’ : सामुदायिक विद्यालयमा मनोमानी

२ चैत्र २०७४, शुक्रबार ०९:४६

चैत २, काठमाडौं ।

१ चैतको मध्यान्ह १२ः३० बजे । यो समयमा विद्यालयका हरेक कक्षाकोठामा पढाई भइरहेको हुनुपर्ने हो ।

विष्णुपुर गाउँपालिका १ जमुनी मधेसपुराको जनता प्राविमा एक जना शिक्षिका र एक जना कार्यालय सहयोगीबाहेक कोही थिएनन् । प्रधानाध्यापक ममता यादव विद्यालयमा अनुपस्थित थिइन् भने अन्य शिक्षकहरु फर्किसकेका थिए ।

‘आज कुनै सार्वजनिक विदा हो र ? भन्ने प्रश्नमा विद्यालयमा उपस्थित शिक्षिका निलमकुमारी यादव अक्क न बक्क भइन् । केहीबेर चुप रहेकी उनले भनिन्, ‘विद्यालय सञ्चालन त भयो तर अघि नै छुट्टी भइसक्यो ।’

यति चाँडै किन छुट्टी भयो त ?

उनले भनिन्, ‘शिक्षकको कमीका कारण पढाइ हुन सकेन् ।’

विद्यालयमा प्रधानाध्यापक ममता यादव, २ जना राहत शिक्षक, दुई जना बालविकास केन्द्र र एक जना कार्यालय सहायक छन् ।

बाल विकास केन्द्रमा ३१, कक्षा १ मा ११, कक्षा २ मा १२, कक्षा ३ मा १५ र कक्षा ४ मा ६ जना बालबालिका अध्ययनरत छन् ।

तर, शिक्षकहरु विद्यालय आए पनि एक-दुई घण्टी पढाएरै छुट्टी दिइहाल्छन् ।

विष्णुपुर गाउँपालिका १ जमुनी मधेपुराकै जनता प्रावि अण्डीपट्टीको अवस्था त्यो भन्दा पृथक छैन । १ चैतमा विद्यालय बन्द थियो । विद्यालयमा कार्यालय सहयोगी सुरजा मोची मात्रै भेटिए ।

मलेकपुर खुरहुरियास्थित जनता माविको हविगत यस्तै छ । २० जना शिक्षक र ३ कर्मचारी रहेको विद्यालयमा १ चैतमा टिफिन समयमै छुट्टी दिइयो । प्रधानाध्यापक सूर्यनारायण यादव उपस्थित नरहेको विद्यालयमा टिफिन समयपछि जाँदा अधिकांश शिक्षकसमेत देखा परेनन् ।

डाक्नेश्वरी नगरपालिका ६ औरहीस्थित जनता मावि कटैया पनि १ चैतमा सञ्चालन भएन । सार्वजनिक विदा भएको भन्दै विद्यालयमा छुट्टी नै दिइएको विद्यार्थीहरुले बताएका छन् ।

सार्वजनिक विदाकै नाममा हनुमाननगर-कंकालनी नगरपालिकास्थित महावीर मावि पनि सञ्चालन भएन ।

एक त विद्यालयमा उपस्थित नहुने र उपस्थित भए पनि पूरा समय नपढाउने सप्तरीका शिक्षकहरुको बानी नयाँ होइन । मधेस आन्दोलन शुरु भएकै समयदेखि जिल्लाको ग्रामीण भेगका सामुदायिक विद्यालय समयमा सञ्चालनै नहुने, भए पनि पूरा समय नहुने प्रवृत्ति कायम छ ।

विदा नभए पनि सामान्य कार्यक्रम गरेरै विदा

शिक्षकहरुले विभिन्न नाममा विद्यालयमा पठनपाठन बन्द गर्दै आएका छन् । गएको २८ फागुनमा हनुमाननगर-कंकालनी नगरपालिका १ भारदहस्थित बीपी माविले चार कोठे भवन शिलान्यास गर्ने भन्दै पढाइ सञ्चालन गरेनन् ।

शिक्षा विभागको सहयोगमा निर्माण हुने भवन शिलान्यास गर्न प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह आएका थिए ।

मन्त्रीको स्वागतका लागि बालबालिकालाई घण्टौं फूल लिएर लाइनमा उभ्याएको विद्यालयले कार्यक्रम सकिएपछि भने छुट्टी दियो । प्रधानाध्यापक प्रकाश गुप्ताले भने, ‘व्यवस्थापन समितिका अध्यक्ष प्रभानन्द मण्डलको आदेशमा पढाइ प्रभावित पारेर कार्यक्रम गरिएको हो ।’