पोखरामा दृष्टिविहीन्हरुको एकल गायन प्रतियोगिता हुने, २५ जना सहभागी हुने

१ चैत्र २०७४, बिहीबार ११:१०

चैत १, काठमाडौं ।

पोखरामा यही चैत ३ गते शनिबार दृष्टिविहीन्हरुको एकल गायन प्रतियोगिता हुने भएको छ ।

रोटरी क्लव अफ पोखरा अन्नपूर्णको आयोजना तथा रोट्रयाक्ट क्लव अफ अन्नपूर्ण, रोट्रयाक्ट क्लव अफ हेमजा र ईनरहृवील क्लव अफ अन्नपूर्णको सह आयोजनामा आउँदो शनिबार पोखराको साइमन पार्टी प्यालेस सिर्जना चोकमा प्रतियोगिता हुने विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।


भिन्न क्षमता भएकाहरुको प्रतिभा प्रष्फुटन गराई सशक्तिकरण गराउँदै सम्मानित जीवनयापन गराउनका लागि आत्मविश्वास बढाउने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको रोटरी क्लव अफ अन्नपूर्णका रोटरियन बाबुराम बरालले बताए ।

प्रतियोगितामा कास्की तथा आसपासका क्षेत्रका २५ जना सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिले लाइभ म्यूजिक वा ट्रयाक दुई मध्ये कुनै एकमा रोजेर गीत गाउनुपर्ने नियम राखिएको छ ।

लाइभ म्यूजिकका लागि आयोजकले वाद्यवादक तयारी अवस्थामा राख्ने अध्यक्ष बरालले जानकारी दिए ।

प्रतियोगितालाई सफल बनाउन नेत्रद्दहीन संघ कास्की, क्वालिटी अफ लाइफ नेपाल तथा बटरफ्लाई फाउण्डेसन नेपालको विशेष सहयोग रहने कार्यक्रम संयोजक रोटरियन भानु भण्डारी -क्षितिज)ले बताए ।

प्रतियोगितामा निर्णायकहरुमा संगीतकार नवराज बराल, सुकु हिराचन र तीर्थराज पोखरेल रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्वितीय हुनेले १० हजार, तृतीय हुनेले ७ हजार र सान्त्वना स्थान प्राप्त गर्नेले ५ हजारसहित प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक भण्डारीले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न २ लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।