फागुन २८, काठमाडौं ।
आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत समूहको आफ्नो अन्तिम खेलमा नेपालले जीतका लागि १५४ रनको लक्ष्य पाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ४८ ओभर २ बलमा अलआउट हुँदै १५३ रन जोड्यो ।
हङकङलाई मध्यम स्कोरमा रोक्ने क्रममा सन्दीप लामिछानेले ३, करण केसी र वसन्त रेग्मीले समान २ तथा ललितसिंह राजवंशी र सोमपाल कामीले १-१ विकेट लिए ।
हङकङका निजाकट खानले ४७, इशान खानले २५ तथा कप्तान बाबर हयातले २० रन जोडे ।
हङकङले टस जितेर नेपाललाई फिल्डिङमा बोलाएको हो ।
प्लेअफअगावै ‘डिभिजन टू’मा घटुवा हुने सम्भावनाबाट बच्न नेपाल आजको खेल जित्नै पर्ने दबाबमा छ । हङकङले भने नेपाललाई पराजित गर्न सके सुपर सिक्समा स्थान पक्का गर्नेछ ।
नेपालको सुपर सिक्समा पुग्ने सम्भावना अंकगणितमा मात्र सम्भव छ । हङकङलाई निकै ठूलो अन्तर (असम्भव प्राय:)ले पराजित गरे मात्र नेपाल शीर्ष ६ मा स्थान बनाउन सफल हुनेछ ।
यद्यपि हङकङलाई हराएमा नेपालले एकदिवसीय टोलीको मान्यता पाउने सम्भावना भने रहने छ ।
प्रतियोगितामा १ खेल जितेको हङकङ समूहको चौंथो र अंकविहीन नेपाल पाचौं स्थानमा छन् ।
