पर्साका तीन स्थानीय तहका शिक्षकहरु ४ महिना देखि तलबबिहीन

२७ फाल्गुन २०७४, आईतवार ०८:२७

फागुन २७, काठमाडौं ।

१४ वटा स्थानीय तह रहेको पर्साका तीन वटा स्थानीय तहका सामुदायिक विद्यालयका शिक्षकहरुले ४ महिना देखिको तलब पाएका छैनन् ।

वीरगञ्ज महानगरपालिका, पर्सागढी नगरपालिका र ठोरी गाउँपालिकाको शिक्षकहरुले तालब नपाएको गुनासो गरेका हुन् ।


दोस्रो चौमासिक निकासा मार्फत पाउनुपर्ने तलब नपाएको शिक्षकहरुको भनाइ छ । तलब नपाउँदा घर व्यवहार चलाउन निकै समस्या भइरहेको उनीहरुले बताएका छन् ।

जिल्ला शिक्षा कार्यालयले स्थानीय तहबाटै तलब पाउनुहुन्छ भनेर पन्छने गरेको र स्थानीय तहले निकासा नभएको भनेर पन्छिने गरेको गुनासो उनीहरुको छ । मंसिरदेखि फागुनसम्मको तलब निकासा नभएको हो ।

जिल्ला शिक्षा कार्यालयबाट तलब निकासा गर्दा यस्तो समस्या आउँदैनथ्यो तर अहिले स्थानीय तहमा जान थालेपछि समस्या देखा परेको छ ।

वीरगञ्जको सिर्सियामा रहेको नेपाल राष्ट्रिय प्रावि आदर्श चोकका शिक्षक राजेश तिवारीले ४ महिनादेखि पैसा नपाउँदा घर व्यवहार धान्न मुश्किल भइरहेको बताए । ‘पढाउनका लागि घर बाहिर रहेको छोरालाई पैसा पठाउनु छ, साथीभाइसँग लिएको उधारो तिर्नु छ ।’ उनले भने ‘ तलब नपाएका कारण केहि गर्न सकेको छैन । तनाव भइरहेको छ ।’

शिक्षकहरुका अनुसार यी स्थानीय तहले शिक्षकहरुको तलब बाहेक विद्यालय सञ्चालनका लागि आवश्यक खर्च समेत निकासा गर्न सकेको छैन ।

तलब नपाएका तीन वटा तहका शिक्षकहरुले आन्दोलनको घोषणा गरेका छन् । शिक्षकहरुले सोमबारदेखि नै स्थानीय तहको कार्यालयमा ‘काम रोक’ धर्ना दिने भएका छन् ।

विभिन्न दवावमुलक कार्यक्रहरु गर्दा पनि स्थानीय तहले शिक्षकहरुको समस्यालाई गम्भीर रुपमा नलिएकोले आन्दोलनमा उत्रनुपरेको उनीहरुको भनाइ छ ।