२७ बैंकले एनआईसी एसियासँगको कारोबार रोके

२५ फाल्गुन २०७४, शुक्रबार ०८:४८

फागुन २५, काठमाडौं ।

२७ वटा बाणिज्य बैंकले एनआईसी एसिया बैंकसँगको अन्तर बैंक कारोबार बन्द गरेका छन् । बचत र मुद्धति निक्षेपमा ग्राहकलाई दिइने ब्याजदरमा सीमा नाघेको भन्दै बैंकर्स संघमा आवद्ध बैंकहरुले अन्तर बैंक वित्तीय कारोबार बन्द गरेका हुन् ।

बैंकर्स संघले नै एनआइसी एसिया बैंकसँग तत्काल कुनै पनि कारोबार नगर्ने निर्णय गरेको छ । एनआईसी एसियाले ब्याजदर नबढाउने प्रतिवद्धता कार्यान्वयन नगरेको भन्दै संघको यस्तो ‘एक्सन’ लिएको हो ।

शुक्रबार आकस्मिक रुपमा बसेको संघको बैठकले एनआईसी एसियासँग कुनैपनि अन्तर बैंक कारोबार नगर्ने निर्णय गरेको अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए ।

गत शुक्रबार संघमा आवद्ध बैंकहरुले बचत खातमा ८ र एक वर्षे मुद्धतिमा ११ प्रतिशतभन्दा बढी ब्याजदर कायम नगर्ने सहमति गरेका थिए । सहमति लगत्तै एनआईसी एसिया बैंकले बचतको ब्याजदर ८ प्रतिशतमा ओरालेको दावी बैंकर्स संघको छ ।

तर, बिहीबार फेरि एनआईसी बचतको ब्याज १० प्रतिशत र मुद्धतिमा १२ प्रतिशत ब्याज दिने निर्णय गरेको थियो ।

त्यसैअनुसार सूचना सार्वजनिक भएपछि बैंकर्स संघले शुक्रबार बिहान बैंकको ब्याजदर बढाउने निर्णयमाथि समीक्षा गनै बैठक बोलाएको थियो ।

यस विषयमा थप छलफल गर्न बैंकर्स संघले आइतबार पनि बैठक डाँकेको छ ।