लागु औषधसहित ५ जना पक्राउ

२४ फाल्गुन २०७४, बिहीबार ११:४६

फागुन २४, काठमाडौं ।

सुनसरीको धरान र झापाको काकडभिट्टाबाट लागु औषधसहित ५ जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका ११ शिवजी चोकबाट लागुऔषध विक्रीमा संलग्न धरान- ११ का विक्रम भुजेल र लागुऔषध खरिदकर्ता सुरेशकुमार राईलाई पक्राउ गरिएको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानको टोलीले उनीहरूलाई लागुऔषध खरिद विक्री गर्दै गर्दा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

भुजेलले बोकेको झोलाबाट ३ सय ४४ पिस नाइट्रोसन ट्याब्लेट, १ सय ३२ पिस स्पास्मोप्रोक्सिवन क्याप्सुल र ५४ एम्पुल टिडिजेसिक (डाइजेल्याप, लुपिजेसिक, एभिल) इञ्जेक्सन बरामद भएको छ।

यसैगरी झापाको मेचीनगर नगरपालिका ६ बाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण व्युरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय काकडभिट्टाको टोलीले लागुऔषधसहित भारत पानीट्याङ्की बजारबाट नेपाल आउँदै गरेको अवस्थामा विराटनगरका किशोर सहनीलाई ७ पिस नाइट्रोसन ट्याब्लेट तथा झापा विर्तामोड नगरपालिका- ८ बस्ने बिन्नी राय क्षेत्री र प्रतिक प्रसाईंलाई १ ग्राम २ सय मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको हो।

तीनै जनालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको प्रहरीले जनाएको छ ।