फागुन २३, काठमाडौं ।
चिठ्ठा (लट्री) पर्यो भन्दै ठगी गर्ने गिरोह नै सक्रिय रहेको पाइएको छ । पछिल्लोपटक गत सोमबार ३ जना भारतीय नागरिकसहित ५ जना पक्राउ परेका छन् ।
रौतहट यमुनामाई गाउँपालिका ४ बस्ने २१ वर्षीय इस्तेखार आलम, २५ वर्षीय ताहिर अन्सारी, भारत बिहार पश्चिम चम्पारणका ३२ वर्षीय नदिम आजम, २६ वर्षीय आसिफ खान र २४ वर्षीय मन्टु कुमार राम पक्राउ परेका प्रहरीले जनाएको छ ।
फागुन २१ गते वीरगञ्ज महानगरपालिका ८ घण्टाघरको लक्ष्मी मनि ट्रान्सफरबाट पक्राउ परेका उनीहरुलाई बुधबार पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ ।
उनीहरुले हृवाट्स एप, इमो, भाइबर, फेसबुकलगायत सामाजिक सञ्जाल र मोबाइलबाट सम्पर्क गरी मानिसहरुलाई चिठ्ठा परेको प्रलोभन देखाउँदै रकम ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।
पर्साका प्रमुख प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले भने ‘सुरुमा म्यासेज तथा फोन मार्फत तपाईलाई ५० लाखको बम्पर चिठ्ठा परेको छ, लट्री वापत तिर्नुपर्ने कर रकम बुझाएपछि पुरस्कारको रकम तपाइको खातामा आउँछ भनेर फकाउने रहेछन् ।’
उनीहरुले मनी ट्रान्सफर तथा अन्य बैंक मार्फत पैसा पठाउन लगाई ठगी गर्ने गरेको पाइएको केसीले जानकारी दिए ।
उनीहरु विरुद्ध ठगी तथा संगठित अपराध शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।
उनीहरुको साथबाट प्रहरीले ठगी गर्न प्रयोग गरिएका सिम सहितका मोबाइलहरु ६ थान, स्रोत खुलाउन नसकेको नगद २ लाख १४ हजार , विभिन्न व्यक्तिहरुको फोटो, नागरिकता, मतदाता परिचय पत्र, भारतीय आधार कार्डहरु, विभिन्न बैंकका कागजात तथा भौचरहरु बरामद गरेको छ ।
प्रहरीले यसअघि पनि तीन पटक यसरी ठगीमा संलग्न गिरोह पक्राउ गरिसकेको छ । बुधबार सार्वजनिक गरिएकासमेत गरी ठगीमा संलग्न १७ जना पर्सामा नै पक्राउ परेका छन् । जसमा ७ जना भारतीय नागरिक छन् ।
