विश्वका २० देशका वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय सम्मेलन चितवनको सौराहामा हुने

२३ फाल्गुन २०७४, बुधबार १०:५४

फागुन २३, काठमाडौं ।

नेपालसहित विश्वका २० देशका केमिकल वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय सम्मेलन चितवनको सौराहामा हुने भएको छ ।

भोलि -बिहीबारबाट शुरु हुने सम्मेलन तीन दिनसम्म चल्नेछ । सम्मेलनको उद्घाटन नाष्टका उपकुलपति प्रा.डा. जीवराज पोखरेलले गर्ने कार्यक्रम छ ।सम्मेलनमा २० देशका एकसय जना केमेस्ट्री वैज्ञानिकहरु र अन्य ५० जना अनुसन्धानको क्षेत्रमा काम गरिरहेका विद्यार्थीहरु सहभागी हुनेछन् । ‘केमेस्ट्री फर ससटेनेबल डेभलभमेन्ट’को नारासहित हुन लागेको सम्मेलनमा १७० वटा कार्यपत्र पेश गरिनेछ ।

केमेस्ट्रीको क्षेत्रमा विश्वका विभिन्न देशमा भैरहेका अनुसन्धान, उपलब्धी एवम् त्यसको प्रबद्धनका लगायतका विषयमा ज्ञानको आदानप्रदान गर्ने उद्धेश्य सम्मेलनको भएको नेपाल केमिकल सोसाइटीका अध्यक्ष प्रा.डा. अमरप्रसाद यादवले जानकारी दिए ।

राजधानी काठमाण्डौं बाहिर भरतपुरको वीरन्द्र क्याम्पसमेतको आयोजनामा गर्न लागिएको सम्मेलनले रसायन शास्त्रको क्षेत्रमा नेपालको वर्तमान अवस्थाका बारेमा समेत छलफल हुनेछ ।

वीरेन्द्र बहुमुखी क्याम्पसका एमएसी संयोजक उपप्राध्यापक मनोज बिष्टले राज्यले रसायन शास्त्रको क्षेत्रमा अध्ययन र अनुसन्धानका लागि ठोस ध्यान नदिएको गुनासो गरे ।

राज्यलाई यसको महत्वलाई बुझाउन एवम् नेपालमा भैरहेका अनुसन्धान र उपलब्धीहरुलाई जनताको जीवनसँग जोड्न यो सम्मेलन फलदायी हुने विष्टको भनाइ छ ।