सिरिएलकिलर : कतारमा पक्राउ परेका सकिललाई नेपाल ल्याइयो

२० फाल्गुन २०७४, आईतवार १०:२५

सात जनाको हत्या गरी फरार रहेका मोहम्मद सकिल हुसेन कतारमा पक्राउ परेका छन्। उनलाई इन्टरपोल नेपालको समन्वयनमा कतारमा पक्राउ गरी नेपाल ल्याइएको छ।

विभिन्न मितिमा सप्तरीका ईद्रिस खलिफा नट, जैतुन खातुन, सैरुन खातुन, सहबुद मियाँ, सगिरा खातुन, दुलारी देवी साह र निर्मला देवी साहको हत्या गरि उनी फरार भएका थिए।

सकिललाई नेपाल प्रहरीको अनुरोधमा इण्टरपोल सचिवालयबाट २०७२ असार ७ गते रेड कर्नर नोटिस जारी गरिएको थियो।

प्रहरी नायव महानिरीक्षक मनोज नेउपानेका अनुसार उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिने छ।

हत्या गरी कतार पुगेका हुसेनका बारेमा नियमित रूपमा नेपाल प्रहरीले इन्टरपोलसँग समन्वय गर्दै आएको थियो।

‘कतार र साउदीको सीमा क्षेत्रमा एक जनाको घरमा काम गर्दै आएका हुसेनलाई पक्राउ गर्न गएका बेला मालिकले समेत लुकाउएका थिए,’ प्रहरी उच्च स्रोतले भन्यो, ‘उनलाई कतार प्रहरीले दोस्रो पटकमा पक्राउ गरेको हो।’

उनले कारागारमा रहेका कैदीलाई छुटाईदिने भन्दै आफन्तलाई प्रलोभनमा पारि रकम लिने अनि हत्या गरी गायव बनाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार हुसेनले २०६९ असोज १ गते सप्तरीका सहबुद मियाँ र उनकी बुहारी (मोहमद आलमकी श्रीमती) सगिरा खातुनको हत्या गरेका थिए।

‘कैलु खातुनको घरमा गई तिम्रो छोरा कारागारमा रहेछ, म पनि कारागारमै थिएँ, म पैसा खर्च गरेर छुटेँ, मेरो माथिसम्म चिनेका मानिस छन्, रूपैयाँ खर्च गर्नुहुन्छ भने म तिम्रो छोरालाई छुटाई दिनसक्छु,’ भन्दै उनले रकम लिएर ससुरा सहबुद मियाँ र बुहारी सगिरा खातुनलाई हत्या गरी कुखुराको खोर मुनी गाडेका थिए।

त्यसैगरी सकिलले २०७० असोजमै जन्डौल–६ को दुलारीदेवी साहको हत्या पनि गरेका थिए।

कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कारागारमा रहेका पति धीरेन्द्र साहलाई कारागारमुक्त गराउन भन्दै ६ लाख रूपैयाँ माग गरी एकान्तमा बोलाएर सकिलले दुलारीको हत्या गरी रकमसमेत लुटेका थिए।

हत्यापछि दुलारीको शव जन्डौल–८ स्थित चुरे जंगलको फेदीमा गाडेको कंगाल प्रहरीले २०७२ वैशाख २७ गते फेला पारेको थियो।

यसैगरी सकिलले २०७० चैत १ गते त्रिकोल–५ बस्ने जयराम साहकी पत्नी निर्मलादेवी साहको हत्या गरेका थिए।

साहका छोरा दीपक कुमारलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै उनीहरूले ३ लाख रुपैयाँ लिएर आउँदा उनको हत्या गरेको र रकम लुटेको प्रहरीको भनाइ छ।

त्यसैगरी सकिलले सुनसरीमा पनि ३ जनाको हत्या गरेको प्रहरीले जनाएको छ।

उनी भारतीय अपराधीको सम्पर्कमा रहेर विभिन्न व्यक्तिको हत्या गर्दै रकम लिएर हिड्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।