फागुन २०, काठमाडौं ।
गाडीको डिकीमा मृत अवस्थामा भेटिएका सनम शाक्य सुन तस्करीमा संलग्न भरिया भएको खुलेको छ ।
अपराध महाशाखा र मोरङ प्रहरीको टोलीले विराटनगर-३, पोखरिया कन्यामार्गमा बा १२ च ५९६३ नम्बरको स्कर्पिओ गाडीको डिकीमा म्याट्रेस, त्रिपालले बेरेको अवस्थामा उनको शव भेटिएको थियो ।
प्रहरी स्रोतका अनुसार अनुसन्धानका क्रममा समन सुन तस्करीमा संलग्न भरिया भएको खुलेको छ । मोरङ, उर्लाबारी–७ का ३३ वर्षीय शाक्य सोमबार अपहरणमा परेका थिए ।
साढे ३३ किलो सुन कसरी हरायो ?
शाक्यले केही साता अघि तस्करीको साढे ३३ केजी सुन केरुङ नाका हुँदै नेपाल भित्र्याएका रहेछन् । त्यसका लागि उनले निश्चित रकम पाउने भनिएको थियो ।
एकाएक सुन गायब भएपछि उनीहरुको पहिलो निशानामा परे सनम । जसले तस्करीको सुन गलत व्यक्तिको हातमा थमाए
तर, सुन सम्बन्धित व्यक्तिसम्म पुगेन । सुन हराएपछि मालिकहरुबीच हल्लिखल्ली मच्चियो । एकाएक सुन गायब भएपछि उनीहरुको पहिलो निशानामा परे सनम । जसले तस्करीको सुन गलत व्यक्तिको हातमा थमाए ।
सुरुआत्मा उनले त्यस बारेमा अनविज्ञता प्रकट गरे । उनले आफूले भनेकै ठाउँमा सुन पुर्याएको दाबी गरे । यद्यपि, सम्बन्धित व्यक्तिको हातमा त्यो पुगेको थिएन ।
सुन मालिकले भरियाको सुराकी गर्न र जानकारी फुत्काउन काभ्रेका ३२ वर्षीय टेकराज मल्ल, उर्लाबारीकै ३३ वर्षीय कृष्ण भनिने नरेन्द्र कार्की र ३७ वर्षीय मोहन काफ्लेलाई खटाए । यद्यपि, उनीहरुले उपलब्धीमूलक सूचना ल्याउन सकेनन् ।
अन्ततः १५ फागुनमा सनम उनीहरुको अपहरणमा परे । उनलाई सिराहाको दक्षिण भेगको एक गोप्य स्थानमा लगे र यातना दिन थाले । तीन दिनसम्म निर्घात कुटपिट गरे तर सुनबारे केही बताएनन् ।
चौथो दिन उनलाई तर्साउन करेन्ट समेत लगाइयो । तर, अपशोच ! करेन्टका कारण सनमको ज्यान गुम्यो।
हामी पछ्याइरहँदा उसको निश्चित गन्तव्य नभएको अनुमान लगाउन सकिन्थ्यो । ऊ शवलाई ठेगान लगाउने ठाउँको खोजीमै थियो-अनुसन्धान अधिकारी
शवलाई लुकाउने ठाउँको अभाव भए पछि
शुक्रबार अपरान्ह नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखालाई व्यक्तिको अपहरणपछि हत्या भएको सुराकी मिल्यो । हत्या गर्नेहरु भाग्न लागेको सूचना थियो ।
लगत्तै, महाशाखाका डिएसपी प्रजित केसी नेतृत्वको प्रहरी टोलीलाई परिचालन भयो । साँझ ४ बजे केसी नेतृत्वको टोली पूर्वतर्फ हुइँकियो ।
सनमको हत्यापछि शवलाई लुकाउन पूर्वतर्फ लैैजाँदै गरेको प्रहरीले पत्तो लगायो । अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहोनीका अनुसार राति करिब १२ बजेतिर अप्रेशन टोली इटहरी पुग्यो ।
त्यहाँ पुगेपछि बा १२ च ५९६३ नम्बरको स्कोर्पियो गाडीलाई शंकास्पद रुपमा केसी नेतृत्वको टोलीले नोटिश गर्यो । र, पछ्याउन थाल्यो ।
‘हामीले पछ्याउँदै गरेको उसलाई शंका लागेको हुन सक्छ’, अप्रेशनमा संलग्न टोलीका एक सदस्यले भने, ‘कहिले गाडी डेड लेनतिर हुइँकिरहेको थियो । कहिले नहरतिर लगिरहेको थियो । गाडी कुदाई एकदमै अनयूजल थियो ।’
ती अधिकारीका अुनसार गाडी चालक काभ्रेका ३२ वर्षीय टेकराज मल्ल (पक्राउ गरेपछि नाम, थर खुलेका) ले गाडीलाई कहिले इटहरीतर्फ कहिले धरानतर्फ गरेर घुमाइरहेका थिए ।
‘त्यसैले त्यतिवेला उसको निश्चित गन्तव्य नभएको अनुमान लगाउन सकिन्छ’, ती अधिकारीले भने, ‘ऊ शवलाई ठेगान लगाउने ठाउँको खोजीमै थियो ।’
प्रहरीले घटनामा संलग्न अन्यलाई पनि पक्राउ गर्ने योजनामा रहेकाले उनलाई त्यसवेलै पक्राउ गरेको थिएन ।
त्यसैवेला प्रहरीले घटनामा संलग्न थप दुई जनाको बारेमा सुराकी पायो । र, शनिबार दिउँसो बिराटनगरको पोखरियाको दुर्गा चोक नजिक पुगेपछि स्कोर्पियोलाई छेक्यो ।
गाडीको खनतलासी गर्दा डिक्कीभित्र तौलिया, म्याट्रेस र त्रिपालले बेरेर लुकाएको अवस्थामा सनमको शव फेला प¥यो ।
‘साँझ ४ बजे महाशाखामा आएको केशमा संलग्न अपराधी प्रहरीको प्रोम्ट एक्सनका कारणले २४ घण्टा वित्न नपाउँदै पक्राउ परे’
सुन धनी फरार
गाडीका चालक टेकराजलाई प्रहरीले तत्काल नियन्त्रणमा लियो । लगत्तै, प्रहरीले इटहरीमा रहेका उर्लाबारीका करेन्द्र र मोहन पनि पक्राउ परे । जो सनमको हत्या भएका वेला ‘क्राइम सिन’ मै थिए ।
अहिले प्रहरीले थप अनुसन्धान थालेको छ । प्रारम्भिक अनुसन्धानले घटनामा थप ४/५ जना व्यक्ति संलग्न भएको देखाएको अनुसन्धानमा खटिएका एक अधिकारीले बताए ।
उनीहरु फरार छन् । तिनै साढे ३२ केजी सुनका मालिक समेत हुन् ।
महाशाखाका प्रमुख लोहोनी भन्छन्, ‘घटनामा संलग्न थप व्यक्तिहरु पनि छिट्टै पक्राउ पर्छन् ।’
