सिंहदरबारभित्र हेल्थ डेस्क सञ्चालनमा, झण्डै ७ हजार कर्मचारी लाभान्वित हुने

१५ फाल्गुन २०७४, मंगलवार ०८:४५

फागुन १५, काठमाडौं ।

सिंहदरबारमा कार्यरत कर्मचारीलाई लक्षित गरेर स्वास्थ्य मन्त्रालयले सोमबारदेखि सिंहदरबारभित्र हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालयको तीनवटा कोठामा सञ्चालित हेल्थ डेस्कको मंगलबार मुख्यसचिव लोकदर्शन रेग्मीले उद्घाटन गरे ।

मुख्य सचिव रेग्मीले सरकारको केन्द्रीय सचिवालय सिंहदरबारमा कार्यरत कर्मचारी र सेवाग्राहीका लागि उपचार केन्द्रद्य आवश्यक रहेको बताए ।

हाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपलब्ध गराएको ठाउँमा हेल्थ डेस्क सञ्चालन गरे पनि केही समयपछि सुविधा सम्पन्न फ्ल्याटमा सर्ने उनले बताए ।

हेल्थ डेस्कले प्राथमिक स्वास्थ्य उपचार र औषधी सेवा दिनेछ । हेल्थ डेस्कमा आवश्यक जनशक्ति वीर अस्पतालबाट आउनेछन् । पूर्वाधारको व्यवस्था स्वास्थ्य सेवा विभागले गरेको छ ।

हेल्थ डेस्कमा एक चिकित्सक, एक नर्स र प्यारामेडिस्क रहनेछन् ।

प्रत्येक दिन विहान ११ बजेदेखि ३ बजेसम्म सञ्चालन हुने हेल्थ डेस्कबाट सिंहदरबारभित्र कार्यरत झण्डै ७ हजार कर्मचारी लाभान्वित हुनेछन् ।

‘अब सिंहदरबारमा कार्यरत कर्मचारीले स्वास्थ्य परिक्षणका लागि बाहिर जानुपर्दैन । वीर अस्पतालले आवश्यक दक्ष जनशक्तिको व्यवस्थापन समेत गरिसकेको छ’ वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले भने । त्यहाँ उपचार हुन नसकेका विरामीलाई वीर अस्पतालमा रेफर गरिनेछ ।

छैटौ, स्वास्थ्य सेवा दिवस-०७४ को अवसर पारी स्वास्थय मन्त्रालयले मंगलबारबाट उक्त हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो ।