फागुन १५, काठमाडौं ।
डा.युवराज खतिवडा अर्थमन्त्री बन्दा एमाले कार्यकर्ताको एउटा पंक्तिबाहेक आमरुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक प्रतिक्रिया पाए ।
‘कोल्याप्स’ हुन लागेको अर्थतन्त्रलाई उकास्न सही ठाउँमा सही व्यक्तिको चयन भएको टिप्पणीले ओलीको रोजाई जनस्तरबाट अनुमोदन भएको छ ।
अर्थमन्त्री बन्न एमालेका प्रभावशाली नेताहरुबीच प्रतिस्पर्धा थियो । महासचिव ईश्वर पोखरेल, उपमहासचिव बिष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे अर्थमन्त्रीका प्रबल दाबेदार थिए । पछिल्लो पटक पोखरेल र ज्ञवालीमध्ये एकजना अर्थमन्त्री हुने अनुमान धेरैले गर्न थालेका थिए ।
एकपटक अर्थमन्त्री भइसकेका र सफलतापूर्वक बाहिरिएका बिष्णु पौडेल यसपटक मन्त्री बन्ने भन्दा पार्टी एकीकरणको प्रक्रियामा बढी सक्रिय थिए । सुरेन्द्र पाण्डे पनि एकपटक सफल अर्थमन्त्री भइसकेका नेता हुन् ।
तर, उनीहरु यसपटक ओलीको रोजाइमा परेनन् । त्यसैले ईश्वर पोखरेल र प्रदीप ज्ञवालीभन्दा डा. युवराज खतिवडा रोज्न प्रधानमन्त्री ओलीलाई यी नेताबाट पनि बल पुग्यो ।
एमालेको आन्तरिक समीकरणमा ईश्वर पोखरेल र प्रदीप ज्ञवाली पछिल्ला दिनमा नङ र मासुजस्तै नजिक भनेर चर्चा गरिने पात्र हुन् । तर, अर्थमन्त्रीको प्रतिस्पर्धामा दुई नेताको सम्बन्ध चिसिएको निकटस्थहरुले बताएका छन् । यसमा अन्य नेताहरुले सकेसम्म भूमिका निर्वाह गरे । अन्ततः अर्थमन्त्रालय दुवै नेताले पाएनन् ।
दृश्यमा नेताहरुको विवादले अर्थमन्त्रालय डा.खतिवडाले पाएको देखिए पनि, प्रधानमन्त्री ओलीको रोजाईमा शुरुदेखि नै खतिवडा थिए ।
डा.युवराज खतिवडालाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्नु र अदालतले सांसदको सपथग्रहण नगराउन अन्तरिम आदेश दिएको भोलिपल्टै अर्थमन्त्री नियुक्त गर्नुले पनि ओली के चाहान्थे र के चाहान्छन् भन्ने पुष्टि हुन्छ ।
