फागुन ११, काठमाडौं ।
आफूलाई सादा पोशाकको प्रहरी हुँ भन्दै लुटेर हिँड्ने दुईजनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं १२ बस्ने १७ वर्षीय आशिष मगर र भरतपुर महानगरपालिका वडा नं ११ बस्ने २० वर्षीय सुजन गुरुङ रहेका छन् । उनीहरुलाई भरतपुरको जागृतिचोकबाट पक्राउ गरिएको हो ।
उनीहरुले फागुन ४ गते राति भरतपुर महानगरपालिका वडा नं ११ निवासी नारायण धिताललाई विशाल चोकमा आफूहरु प्रहरी भएको बताउँदै जाँच गर्ने भन्दै नगद रु १० हजार र मोबाइल सेट लुटेको प्रहरीले जनाएको छ ।
धिताल काठमाडौँबाट घर फर्कने क्रममा उनीहरुले लुटेको प्रहरीले जनाएको छ ।
उनीहरुले नारायणगढमा रहेको पोखरा बसपार्कमा पनि होटलमा धम्काउने काम गरेको कार्यालयले जनाएको छ ।