फागुन ७, काठमाडौं ।
मुख्यमन्त्री र मन्त्रीहरुले प्रदेश १ लाई मुलुककै समृद्ध बनाउने प्रतिवद्धता जनाएका छन् ।
उनीहरुले कृषि, जलस्रोत, पर्यटन, उद्योगलाई अधिकतम उपयोग गरेर प्रदेशलाई समृद्धिको यात्रामा अगाडि बढाउने बताएका हुन् ।
मुख्यमन्त्री शेरधन राईले समृद्ध प्रदेश निर्माणका लागि उद्योगी र व्यवसायीलगायत सबै क्षेत्रले प्रदेश सरकारलाई सहयोग गर्नुपर्ने बताए ।
विराटनगरमा उद्योग संगठन र मोरङ व्यापार संघले मुख्यमन्त्री र मन्त्रीहरुको सम्मानमा गरेको कार्यक्रममा उनले भने ‘राजनीतिक क्रान्ति अन्त्य भएको छ, अब आर्थिक क्रान्तिको माध्यमबाट प्रदेश १ लाई समृद्ध बनाउने बेला आएको छ, प्रदेश सरकारको मुख्य संकल्प यो प्रदेशलाई मुलुककै अब्बल बनाउने हुनेछ, त्यसका लागि सबै प्रदेशबासीको साथ र सहयोगको अपेक्षा छ ।’
उनले कृषि उत्पादनलाई प्राथमिकतामा राख्दै सिंगो देशलाई पुग्ने खाद्यन्न प्रदेश १ मा उत्पादन गर्ने गरी योजना ल्याउने बताए ।
आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सबै क्षेत्रमा सुशासन कायम गराउन प्रदेश सरकार सक्रिय हुने बताए ।
उनले आर्थिक अनुशासन कायम नहुँदा सामाजिक सुरक्षाको विषय समेत जटिल बन्ने भएकोले भ्रष्टाचारमुक्त समाज निर्माण गर्नेमा जोड दिए ।
आर्थिक विकास तथा योजना मन्त्री इन्द्र आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे, उद्योग पर्यटन तथा वातावरण मन्त्री जगदिश कुसियतले उद्योग, पर्यटन, कृषि, जलस्रोतको अधिकतम प्रयोग गरी प्रदेशलाई समृद्ध बनाउने प्रतिवद्धता जनाएका थिए ।
