कमा लेख्न छुटाउँदा ५० लाख डलर जरिवाना

२ फाल्गुन २०७४, बुधबार ०८:०८

फागुन २, काठमाडौं । एजेन्सी

अमेरिकाको एक डेरी उद्योगले कमा लेख्न छुटाउँदा ५० लाख डलर जरिवाना तिर्नुपरेको छ ।

ओकहस्र्ट डेरीमा काम गर्ने गाडी चालक मजदूरहरुले कम्पनीविरुद्ध सन् २०१४ मा मुद्दा दायर गरी अतिरिक्त समयमा काम गरेबापतको १ करोड डलर माग गरेका थिए ।

अमेरिकाको पोर्टल्याण्डमा रहेको यो डेरीले कामदारसँगको सम्झौतामा दुई शव्दबीचमा अल्पविराम छुट्दा क्षतिपूर्ति बापत ठूलो रकम भुक्तान गर्नुपरेको हो ।

अदालतको आदेशपछि अदालतले मजदुरको अतिरिक्त समय भत्ताको कानून अनुसार ती मजदूरको मुद्दा संघीय पुनरावेदन अदालतले दर्ता गर्यो ।

ड्राइभरसँगको करार सम्झौतापत्रमा लेखिएको कार्यविवरणमा तोकिएका विभिन्न कार्यहरुका शव्दमध्ये दुईवटाको बीचमा कमा लेख्नुपर्नेमा अथवा लेखिएको थियो ।

जसका कारण खास कार्यविवरण दुवै हुन् कि दुईवटा मध्ये एउटा काम गरे पुग्ने हो भन्ने कुरामा द्विविधा उत्पन्न भयो ।

करार सम्झौताको सोही विरोधाभाषका कारण फैसला मजदूरहरुको पक्षमा गएको अमेरिकाको संघीय पुनरावेदन अदालतले जनाएको छ ।

उक्त डेरी कम्पनीका चालकहरुले चार वर्षअघि नै क्षतिपूर्तिको माग गरी मुद्दा हालेका थिए ।