फागुन २, काठमाडौं ।
विश्व क्रिकेट लिग डिभिजनमा क्यानाडाविरुद्ध नेपालले टस जितेको छ र फिल्डिङ रोजेको छ ।
जित हासिल गर्ने टोलीले जिम्बाबेमा अर्को महिना हुने विश्वकप छनोट खेल्न पाउनेछ । हारले यो सपना टुट्नेछ ।
अंक तालिकामा शीर्ष स्थानमा रहेको क्यानाडाविरुद्ध जित निकाल्न नेपाललाई सजिलो छैन । भारत, पाकिस्तान र श्रीलंकाका खेलाडीहरुले भरिएको क्यानाडाको ब्याटिङ शशक्त छ भने नेपालको बलिङ ।
फ्रेस पिचमा खेलाइने आजको खेलमा जसले टस जिते पनि पहिला फिल्डिङ रोज्ने सम्भावना छ ।
नेपालले टस जितेका तीन वटै खेलमा पहिले फिल्डिङ रोज्यो । टस हारेर पहिले ब्याटिङ गरेको ओमानविरुद्ध पराजित भयो ।
विपक्षीलाई सस्तो योगफलमा समेट्ने र ब्याट्म्यानहरुले बिस्तारै रन बटुल्दै लक्ष्यसम्म पुग्ने नेपालको स्टाइल हो ।
सबैको नजर पारस र सन्दिपमा
यो प्रतियोगितामा नेपालको बलिङ युवा बलर सन्दिप लामिछानेले धानिरहेका छन् ।
उनले अहिलेसम्म ४ खेलमा १४ विकेट लिएर प्रतियोगिताकै सर्वाधिक विकेटटेकर बनेका छन् ।
आजको म्याचमा पनि उनीमाथि सबैको नजर हुनेछ । विपक्षी ब्याट्सम्यानहरु सन्दिपविरुद्ध सचेत भएर खेल्नेछन् ।
प्रतियोगितामा नेपालको ब्याटिङ राम्ररी चल्न सकेको छैन । तर, पछिल्ला दुई म्याचमा कप्तान पारस खड्काले उत्कृष्ट इनिङ खेले, जसले टिमको मनोबल बढेको छ ।
साथै केन्यासितको अघिल्लो म्याचमा दुई युवा खेलाडी आरिफ सेख र रोहितकुमार पौडेलले परिपक्व ब्याटिङ गर्दै नेपाललाई जिततर्फ डोर्याएका थिए ।
उनीहरुको प्रदर्शनले नेपालको ब्याटिङको गहिराई बढाएको छ । नेपाल बिग थ्री (पारस, ज्ञानेन्द्र र शरद) मा मात्रै निर्भर छैन भन्ने सन्देश दिएको छ ।
