माओवादीसँगको पार्टी एकता विचार, सिद्धान्त र संगठात्मक संरचनाका राँटा मिलाउने चरणमा : महासचिव पोखरेल

२९ माघ २०७४, सोमबार ०८:४६

माघ २९,काठमाडौं ।

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादीसँगको पार्टी एकता विचार, सिद्धान्त र संगठात्मक संरचनाका राँटा मिलाउने चरणमा रहेको बताएका छन् ।

पार्टी एकता संयोजन समिति सदस्य समेत रहेका महासचिव पोखरेलले सिद्धान्त र संगठनका राँटा नसम्याई मिलौं मिलौं भनेरमात्र नहुने बताएका छन् ।


एमाले सम्बद्ध निर्माण व्यवसायी संगठनको काठमाडौंमा जारी महाधिवेशन उद्घाटन गर्दै महासचिव पोखरेलले भने ‘संगठनात्मक मामिलामा साझा फुटिङ गर्नुछ । संगठनात्मक एकताको सन्दर्भमा पनि साझा धारणा बनाउन बाँकी छ । दुवै पार्टी तलदेखि माथिसम्म भोलि एकीकृत ढंगले कुन विचार र संगठनात्मक ढाँचामा निर्देशित हुन्छौं भन्ने कुरामा केही राँटा छन् । ती मिलाउने क्रममा अहिले हामी छौं ।’

पोखरेलले माओवादी केन्द्रको ४ हजार सदस्यीय केन्द्रीय कमिटी र एमालेको २ सय सदस्यीय केन्द्र कमिटी रहेको भन्दै संगठनको एकीकरण कसरी गर्ने भन्नेमा छलफल चलिरहेको बताए ।

उनले पार्टीको संगठन भनेको एउटा डालोबाट अर्को डालोमा सामान खन्याए जस्तो नहुने पनि प्रष्ट पारे ।