माघ २८, काठमाडौं ।
नेकपा एमालेले प्रदेश १ को प्रदेशसभा सभामुखमा प्रदीप भण्डारीको नाम सिफारिस गरेको छ ।
सुनसरी १ क बाट निर्वाचित प्रदेश सांसद भण्डारीलाई एमालेले सभामुखको उम्मेदवारमा अघि सारेको हो ।
प्रदेशसभा १ मा सभामुखका लागि आइतबार उम्मेदवारी दर्ताको कार्यक्रम छ भने सोमबार निर्वाचन रहेको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सहमति अनुसार प्रदेश १ मा सभामुख र मुख्यमन्त्री एमाले नै रहनेछन् । उपसभामुख भने नेकपा माओवादी केन्द्रबाट हुनेछ ।
-
भण्डारीको पृष्ठभूमी
प्रदेशसभा निर्वाचनमा एमालेले सुनसरी १ क बाट भण्डारी निर्विरोध सिफारिस गरेको थियो ।
एमालेको धरान उपमहानगरपालिका इन्चार्ज र सुनसरी जिल्ला सचिवालय सदस्य भण्डारीले ४ वर्षअघि शिक्षण पेशाबाट अवकाश लिएका थिए ।
उनी एमाले सचिव तथा प्रदेश १ इन्चार्ज भीम आचार्यको निकट मानिन्छन् ।
शनिबार आचार्य र हालै संसदीय दलको नेता चुनिएका शेरधन राईबीच भण्डारीलाई सभामुखको उम्मेदवार बनाउने सहमति भएको एमाले स्रोत बताउछ ।