त्रिशूलीमा बेपत्ता सचिव मृत भेटिए

२७ माघ २०७४, शनिबार ०५:०८

माघ २७, काठमाडौं ।

शनिबार बिहान त्रिशूलीमा गाडी खसेर बेपत्ता सिँचाइ सचिव रामानन्द यादव मृत भेटिएका छन् । बेपत्ता अन्य २ जनाको अवस्था भने अझै अज्ञात छ ।

घटनास्थलमा खटिएका नेपाल प्रहरीका सई पूर्णबहादुर लामाले सचिव यादवको शव भेटिएको पुष्टि गरे । उनका अनुसार, बेपत्ता दुईजना भेटिएका छैनन् । उनीहरूकाे अहिले खोजी कार्य भइरहेको छ ।


शनिबार बिहान ३ बजेतिर सचिव यादव सवार बा २ झ ३१४० नम्बरको गाडी पृथ्वी राजमार्गअन्तर्गत धादिङको सलाङमा त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो ।

दुर्घटनामा सचिव यादवसहित उनका २२ वर्षीय छोरा सन्तोष र साथीको छोरी १५ वर्षीया उन्नति गुप्ता वेपत्ता भएकोमा सचिव यादवको शव फेला परेको हो ।

दुर्घटनामा चालक निराजन यादव घाइते भएका छन् । उनलाई यसअघि नै उद्धार गरेर ट्रमा सेन्टर काठमाडौं ल्याइएको छ ।