माघ २५, काठमाडौं ।
प्रदेश १ मा माओवादी केन्द्रभित्र भाँडभैलो मच्चिएको छ । वाम एकताको विरोध गर्दै पार्टी पुनर्गठन अभियानमा लागेको घोषणा गरेका गोपाल किरातीले सिंगै पार्टी कब्जा गरेको भन्दै २९ जना केन्द्रीय नेताहरुले प्रचण्डसँग हारगुहार गरेका छन् ।
प्रदेश १ का संयोजकसमेत रहेका गोपाल किरातीले भने आज र भोलि बस्ने भनिएको प्रदेश सचिवालयको बैठक स्थगित गरिदिएका छन् ।
प्रदेशसभामा दलको नेता, उपसभामुख र सचेतकको उम्मेदवार छनोट गर्न आज र भोलि माओवादी केन्द्रको प्रदेश कमिटी सचिलालय बैठक बोलाइएको थियो ।

पार्टीका सचिवालय सदस्य एवं प्रदेशसभा सदस्य टंक आङबुहाङको नेतृत्वमा १९ जना पोलिटब्यूरो सदस्यहरुले गोपाल किरातीलाई अनुशासनको कारवाही गर्न लिखित माग गरेपछि संयोजक किरातीले बैठक स्थगित गरिदिएका हुन् ।
गोपाल किरातीले वाम गठबन्धनको विरोध गरेको, पार्टी एकताविरुद्ध गतिविधि सञ्चालन गरेको र गुटबन्दी गरेर पार्टी फुटाउन खोजेको भन्दै उनीमाथि कारवाही गर्न डेढ दर्जन केन्द्रीय नेताहरुले प्रचण्डसमक्ष तीन दिनअघि लिखित माग गरेका थिए ।
साथै, प्रदेश १ मा बसोबास गर्ने पोलिटब्युरो नेताहरुले किरातीले बोलाएको प्रदेश सचिवालयको बैठकमा सहभागी नहुने भन्दै माघ २५ र २६ गते बस्ने बैठकमा पार्टी अध्यक्ष प्रचण्ड आफैं उपस्थित हुनुपर्ने मागसमेत गरेका थिए ।
आफूले बोलाएको बैठकमा सहभागी नहुने नेताहरुको मागलगत्तै संयोजक किरातीले बैठक नै स्थगित गरिदिएका छन् । बैठक स्थगित भएपछि प्रदेशमा उपसभामुख र दलको नेताको उम्मदेवार छनोट गर्ने प्रक्रियामा समेत असर पर्ने देखिएको छ ।
प्रदेश १ को सभामुख र उपसभामुखको निर्वाचन माघ २९ गते हुँदैछ । वाम गठबन्धनबाट सभामुख एमालेले पाएको छ भने उपसभामुख माओवादीको भागमा परेको छ ।
अविलम्ब बैठक बोलाउन माग गर्दै बुधबार जारी वक्तव्यमा भनिएको छ– ‘१ नं. प्रदेश पार्टीको बैठक लामो समयदेखि बस्न नसकेको परिस्थितिमा माघ २५ र २६ गते बोलाएको बैठक पनि विनाकारण अचानक स्थगित भएको घटनाले हामीलाई गम्भीर आशंका पैदा गराएको छ । संसदीय दल र प्रदेश सरकारमा प्रतिनिधित्व गराउने सन्दर्भमा महत्वपूर्ण निर्णयहरु लिनुपर्ने भएकाले अविलम्ब अध्यक्ष प्रचण्डको उपस्थितिमा प्रदेश सचिवालयको बैठक राख्न संयोजक समक्ष जोडदार माग गर्दछौं ।’
साथै सचिवालयको वैठक नबसी कुनै पनि विषयमा निर्णय नलिन संयोजक गोपाल किरातीसँग नेताहरुले माग गरेका छन् । उनीहरुले तत्काल बैठक डाकेर पार्टी सञ्चालनको विधि, पार्टीभित्र देखिएका अराजकतावाद र चरम अवसरवाद एवं समग्र विषयमाथि गम्भीर समीक्षा हुनुपर्ने माग गरेका छन् ।
-
किरातीविरुद्ध २९ नेता
गोपाल किरातीले बैठक स्थगनको घोषणा गरेपछि अबिलम्ब बैठक राख्न प्रदेश १ का नेताहरुले प्रचण्डसँग माग गरेका छन् । यसरी किरातीविरुद्ध उभिनेहरुमा पूर्वमन्त्री शिवकुमार मण्डल, धर्मशिला चापागाई, श्रीप्रसाद जबेगुलगायत विभिन्न जिल्लाका नेताहरु छन् । विगतमा पार्टीभित्र किरातीकै पक्षमा उभिएका नेताहरु पनि अहिले उनको विपक्षमा उभिएका छन् ।
किरातीविरुद्ध अध्यक्ष प्रचण्डसमक्ष हारगुहार गर्ने नेताहरुमा सचिवालय सदस्य एवं प्रदेशसभा सदस्य टंक आङबुहाङ, पूर्वमन्त्री एवं मोरङ ५ का सांसद शिवकुमार मण्डल र पूर्वसांसद पासाङ शेर्पासमेत छन् ।
त्यसैगरी किरातीविरुद्ध उभिँदै बैठकको माग गर्ने २६ जना पोलिटब्यूरो सदस्यहरुमा पेशल खतिवडा, हेमराज भण्डारी, श्रीप्रसाद जबेगु, तिलकबहादुर थापा, होमकुमारी खापुङ, शंकर राई (आङगामी), धर्मशिला चापागाई, झलकसिंह दर्लामी, मुक्सामहाङ मेन्याङबो, अस्मिता कार्की, शिवबहादुर बस्नेत, हर्क नेम्वाङ, बाबुराम गौतम, गोपी अछामी, रामकुमारी चौधरी, दुर्गाप्रसाद चापागाई, सुदन किराती, राजु आचार्य, गणेश उप्रेती, रिपु राई देवान, डम्बर सुवेदी, दूर्गाजयन्ती राई, खेम सुन्दास, मोहनबहादुर खत्री, हेम कार्की र योगेन्द्र मण्डल (पप्पु) छन् ।
-
गोपाल किराती र बादल समूहको गठजोड
यसैवीच प्रदेश १ मा माओवादीभित्र देखिएको अन्तरविरोध प्रचण्ड पक्ष र वादल पक्षका रुपमा मुखरित भएको छ । गोपाल किराती समूह र बादल समूह एक भएको छ भने अर्कोतिर प्रचण्ड समूह छ । पार्टी र प्रदेशसभा दुबैमा बादल–किराती समूह भन्दा प्रचण्ड पक्षको बहुमत भए पनि प्रदेश संयोजक किरातीले पार्टीलाई आफ्नो कब्जामा राखेको गुनासो प्रचण्ड पक्षका नेताहरुको छ ।
प्रदेश १ मा कुल ९३ जना प्रदेश सांसदहरु रहेकोमा माओवादीका एक स्वतन्त्रसहित १६ जना सांसद छन् । तीमध्ये ९ जना प्रचण्ड पक्षधर छन् भने वादल समूहका ५ जना र गोपाल किराती समूहका २ जना छन् । वादल समूह र किराती समूह एक हुँदा पनि प्रचण्ड समूहकै बहुमत पुग्छ ।
वादल समूहमा पूर्ववैद्य समूहबाट फर्केका नेताहरुको बाहुल्य छ ।
