संविधानले राष्ट्रिय एकता, अखण्डता, सहकार्य र सद्भाव कायम गरोस

३ आश्विन २०७४, मंगलवार ०१:५७

असोज ३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रो संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुन सकोस् भनी शुभकामना व्यक्त गरिन् ।

संविधान दिवस २०७४ का अवसरमा राष्ट्रपति भण्डारीले दिइएको शुभकामना सन्देशमा नेपाली जनताको लामो संघर्ष, बलिदान र प्रतीक्षापछि संविधानसभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको आजको दिन महत्वपूर्ण ऐतिहासिक दिन भएको उल्लेख गरिन् ।

संविधान जारी भएको दिनले राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत र समृद्ध संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा थप प्रेरणा मिल्ने र यसप्रति सबै नेपाली कृत्संकल्पित हुने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानले धर्मनिरपेक्षता, समावेशिता, समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नाका साथै सबै तह, तप्का, वर्ग र क्षेत्रका जनताको अधिकार प्रत्याभूत गरेको उल्लेख गरिन्।

त्यसै गरी उपराष्ट्रपति नन्दबहादुर पुनले जनआन्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध र २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनका उपलब्धि संस्थागत भएको स्वर्णिम दिन संविधान दिवसका अवसरमा देशविदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गरेको । सोही उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनका प्रमुख पक्ष स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र प्रदेश र संघको निर्वाचन घोषणा भइसकेको बताउँदै संविधान दिवसको पूर्वसन्ध्यामा प्रदेश नं २ मा उत्सवका रूपमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भाग लिई आफ्नो सार्वभौम मताधिकार प्रयोग गर्ने मतदातामा बधाई ज्ञापन गरे ।

 

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवसले हामी सबैलाई आफ्नो अधिकार र कर्तव्यप्रति समेत रहँदै राष्ट्रिय एकता र समृद्धिको मार्गमा हिँड्न प्रेरित गरोस् भन्ने कामना गर्दै यस अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरे । मंगलबार शुभकामना सन्देश दिँदै उनले नेपालको संविधान लोकतान्त्रिक मूल्यमान्यता, समावेशिता र नागरिक अधिकारको सन्दर्भमा विश्वकै उत्कृष्ट रहेको उल्लेख गरे । संघीयता, शक्ति पृथकीकरण र सन्तुलन, आवधिक निर्वाचन, मानवाधिकार, सहभागितामूलक राजनीतिक प्रणाली, स्वतन्त्र न्यायपालिका, संयुक्त राष्ट्र संघको बडापत्रप्रतिको सम्मान एवं समाजवादोन्मुख अर्थतन्त्रलगायत गुणलाई संविधानले अंगीकार गरेको बताए ।

 

प्रधानमन्त्रीले सन्देशमा यसको सफल कार्यान्वयनका लागि यसले निर्दिष्ट गरेको लोकतान्त्रिक संस्थाहरूको सबलीकरण गर्दै अगाडि बढ्नु आवश्यक रहेकामा जोड दिए । स्थानीय, प्रान्तीय र संघीय तहको निर्वाचनसँगै मुलुक संक्रमणकालीन अवस्था पार गर्दै राजनीतिक स्थायित्व र आर्थिक विकासको नयाँ युगमा प्रवेश गरेको प्रधानमन्त्रीको भनाइ छ । संविधान जीवन्त र गतिशील दस्तावेज भएको बताउँदै सन्देशमा प्रधानमन्त्री देउवाले यसलाई जीवन्त राख्न असल राजनीतिक संस्कार, नागरिक सचेतना र सुशासन अपरिहार्य रहेको उल्लेख गरे। समाजमा व्याप्त गरिबी, असमानता, भोक, रोग, अशिक्षा र कलहका खाडललाई पुर्दै जाँदा मात्र संविधानले परिलक्षित गरेका महत्वपूर्ण गन्तव्यमा पुग्न सकिने बताउँदै उनले यसका लागि सबै एक जुट र दत्तचित्त भएर लाग्नुपर्ने उल्लेख गरे ।