प्रदेश ७ मा राष्ट्रियसभा निर्वाचनको मतदानमा राजपाका २ सांसद गएनन्

२४ माघ २०७४, बुधबार ०९:१०

माघ २४, काठमाडौं ।

बुधबार भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश ७ मा दुई सय २७ जनाले मतदान गरेका छन् । २२९ जना मतदातामध्ये राष्ट्रिय जनता पार्टी नेपालका दुई प्रदेशसभा सांसदले मतदान गरेनन् ।

दिपायलको स्थानीय पद्म पव्लिक मुक्तिनारायण माविमा भएको मतदानमा २२७ जना मतदाताले दिउँसो १ बजेसम्म नै मतदान गरिसकेका थिए ।

राजपाका प्रदेश सांसदहरु मालमती राना थारु र कृष्णकुमार चौधरी मतदानमा नआएका हुन् ।

आफ्नो पार्टीको उम्मेदवार नभएको र अरु पार्टीका उम्मेदवारले मत नमागेकाले मतदान गर्न नगएको राजपा नेतृ एवं प्रदेश सांसद मानमती राना थारुले बताइन् ।

कैलालीको स्थानीय तहबाट निर्वाचित राजपाका अन्य दुई मतदाताले भने मतदान गरेका छन् ।

मतगणनाको विषयमा छलफल गर्न बुधबार दिउँसो दुई बजे निर्वाचन अधिकृतको कार्यालयले सर्वपक्षीय बैठक बोलाएको छ ।