माघ २१, काठमाडौं ।
राष्ट्रिय खेलकुद परिषद ९राखेप० का सदस्य सचिव केशवकुमार विष्टले तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) तोकिएकै मितिमा हुने दाबी गरेका छन् ।
‘खेलकुद पत्रकार मञ्च कास्कीले आइतबार गरेको पत्रकार भेटघाटमा बोल्दै सदस्य सचिव विष्टले पूर्वाधार वा राखेपका कारण साग नसर्ने स्पष्ट पारे ।
उनले भने, ‘पूर्वाधार निर्माणमा ढिलाइ भएर वा राखेपका कारण सागको मिति सर्दैन, तर सरकारले बजेट दिएन, ओलम्पिक कमिटीले प्रक्रिया पूरा गरेन भने म भन्न सक्दिन ।’
सरकारको इच्छाशक्ति नभए वा ओलम्पिक कमिटीको कमजोरीका कारण ढिलाइ भएमात्र प्रतियोगिता सर्न सक्ने उनको भनाइ छ ।
विष्टले पोखरामा महिला फुटबल, पुरुष तथा महिला भलिबल, आर्चरी, ट्रायथोलन, ब्याडमिन्टन र बक्सिङका खेलहरु खेलाउने तयारी गरिएको छ । धेरै भन्दा धेरै खेल पोखरामा खेलाउने राखेप, खेलकुद मन्त्रालय र सरकारको पनि इच्छा रहेको उनले बताए ।
सदस्य सचिव विष्टले खाली जग्गा कब्जा गर्न खेलकुदसम्बन्धी संस्थाहरुलाई निर्देशन दिए । ‘सरकारी जग्गा खाली छन् भने तुरुन्त कब्जा गर्न मैले सबै खेल संस्थाहरुलाई निर्देशन दिएको छु र फेरि पनि दिन्छु’ उनले भने । खेलकुदका लागि जग्गा कम भएकाले काम विहिन् जग्गा सदुपयोग गर्नका लागि आफूले यस्तो निर्देशन दिएको उनको भनाइ छ ।
सदस्य सचिव विष्टले गोल्डकप खेलाउने संस्थाको क्षमता अनुसार प्रतियोगिता आयोजना गर्नुपर्ने बताउँदै त्यसको प्रथम पुरस्कारको राशी राखेपले दिने दोहोर्याए । नव खेलाडीलाई खेलप्रति आकर्षण गर्न, खेल खेलेरै बाँच्न सकिन्छ, भविष्य बनाउन सकिन्छ भनेर देखाउन, खेलाडीको लिभिङ स्ट्याडर्ड बढाउनका लागि गोल्डकपको राशी बृद्धिले सघाउने उनले बताए ।
सदस्य सचिव विष्टले पोखरालाई खेलकुदको राजधानी र इटहरी र दाङको तुलसीपुरलाई खेलकुदको सहर बनाउने बताए । त्यसका लागि तयारी तिब्र पारिएको उनले बताए ।
