स्याङ्जाका खाम्चा बेलायती सेनाको उच्च पदमा पुगे

२१ माघ २०७४, आईतवार ०९:०७

माघ २१, काठमाडौं ।

बेलायती सेनामा कार्यरत एक नेपाली उच्च अधिकृतमा पदोन्नति भएका छन् ।

बेलायती सेनाको उच्च अधिकृतमा कमै नेपालीहरु पुग्दै आइरहेकोमा टोल खाम्चा मगर छैटौं वरीयताको लेफ्टिनेन्ट कर्णेल बन्न सफल भएका हुन् । ५० वर्षीय खाम्चा स्याङ्जा शीरकोट, करादीमा जन्मिएका हुन् ।


बेलायती सेनामा नेपालीहरुले २ सय वर्षदेखि प्रवेश पाउँदै आएका भए पनि उच्च पदमा कमै पुग्ने गरेका छन् । खाम्चा बेलायती सेनाको छैटौं वरीयतामा पुग्ने चौथो नेपाली हुन् । यसअघि लालबहादुर पुन, विजय राजत र यामबहादुर रानाले पनि यो पदमा पुग्ने अवसर पाएका थिए । यद्यपि, उनीहरु सबै अहिले सेवा निवृत्त भइसकेका छन् ।

खाम्चाको परिचय

स्याङ्जा शीरकोट, करादीमा जन्मिएका खाम्चा आजभन्दा ३० वर्षअघि बेलायती सेनामा भर्ना भएका हुन् । गाउँबाट प्राथमिक तहको र बुटवलबाट एसएलसीसम्मको पढाइ पूरा गरेपछि सैनिक पृष्ठभूमिका उनका बाबुले उनलाई कानून विषय पढाउन चाहेका थिए । तर इन्जिनियरिङ विषय पढ्न पुल्चोक क्याम्पसमा भर्ना भएका खाम्चा साथीको लहैलहैमा लागेर बेलायती सेनामा भर्ना हुन पुगे

बेलायती सेनाको विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका खाम्चा हाल युकेको अल्डरसटस्थित आर्मी हेर्डक्र्वाटर रिजनल कमाउडमा बसोबासरत छन् ।