इनम सापकोटाकी श्रीमतीद्वारा राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी, प्रहरीमाथि नक्कली प्रमाण बनाएको आरोप

१३ मंसिर २०८३, शनिबार १०:५६

इनम सापकोटाकी श्रीमतीले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिँदै प्रहरी हिरासतमा रहेका आफ्ना श्रीमान्माथि मानव अधिकार उल्लङ्घन भएको आरोप लगाएकी छन्। उनले उजुरीमा विमानस्थलबाट नियन्त्रणमा लिइएको घटनादेखि धम्की, मोबाइलमा छेडछाड र मिडिया ट्रायलसम्मका विषय उठाएकी छन्।

उजुरीमा उल्लेख भएअनुसार, सापकोटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोर्डिङ पास लिएर अन्तिम सुरक्षा जाँचस्थलमा पुगेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसक्रममा उनीसँग भएका दुईवटा मोबाइल खोसिएको र आँखामा पट्टी बाँधेर विमानस्थलबाट बाहिर लगिएको दाबी गरिएको छ।

त्यस्तै, नेपाली कांग्रेसका सभापति, सर्वोच्च अदालतका केही न्यायाधीशलगायत अन्य व्यक्तिहरूविरुद्ध प्रमाण र बयान दिए रिहा गरिदिने भन्दै दबाब दिइएको तथा अस्वीकार गरे आफू र आफ्नो परिवारलाई समेत नराम्रो हुने धम्की दिइएको उजुरीमा उल्लेख छ।

प्रहरी नियन्त्रणमा रहेकै बेला सापकोटाको मोबाइल दुई दिनसम्म अन्य व्यक्तिलाई दिएर छेडछाड गरिएको, नक्कली प्रमाण तयार पारिएको र एआईबाट बनाइएका कागजातसमेत प्रमाणका रूपमा प्रस्तुत गरी फसाउने षड्यन्त्र भइरहेको आरोपसमेत लगाइएको छ।

यस्तै, अनुसन्धान पूरा नहुँदै उनलाई ‘देशकै सबैभन्दा ठूलो बिचौलिया’ र ‘फिक्सर’ जस्ता उपनाम दिएर सञ्चारमाध्यममार्फत दोषीझैँ प्रस्तुत गरिएको भन्दै मिडिया ट्रायल गरिएको उजुरीमा उल्लेख छ। उनकी श्रीमतीलाई समेत ‘कागज गर्न जाँदा प्रहरीको फन्दामा परेको’ जस्ता शब्द प्रयोग गरेर बदनाम गरिएको दाबी गरिएको छ।

उजुरीमार्फत सापकोटाकी श्रीमतीले आफ्ना श्रीमान्को मानव अधिकारको संरक्षण, निष्पक्ष अनुसन्धान तथा प्रहरी नियन्त्रणमा भएका भनिएका गतिविधिको छानबिन गर्न राष्ट्रिय मानव अधिकार आयोगसँग माग गरेकी छन्।

उजुरीमा लगाइएका आरोपहरू स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छन्।