तिहार तथा छठयता बालेन सरकारका १६ प्रमुख काम सार्वजनिक, कुन–कुन क्षेत्रमा भयो प्रगति ?

१२ मंसिर २०८३, शुक्रबार १८:०५

धानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मङ्सिर १ देखि ११ गतेसम्म सम्पादन गरेका काम तथा प्रगतिको विवरण सार्वजनिक गरेको छ। कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले यस अवधिमा सुशासन, प्रशासनिक सुधार, विकास निर्माण, विपद् व्यवस्थापन, सूचना प्रविधि र सार्वजनिक खरिदलगायतका क्षेत्रमा विभिन्न १६ प्रमुख काम अघि बढाएको छ।

भारतको राजकीय भ्रमणदेखि जेनजी शहीद परिवारको पुनर्स्थापना, विपद् व्यवस्थापन कोषमा रकम निकासा, तल्लो अरुण आयोजनाको ठेक्का आह्वान तथा नयाँ विद्युतीय सरकारी खरिद प्रणाली सञ्चालनसम्मका काम विवरणमा समेटिएका छन्।

सरकारले गरेका १६ प्रमुख काम

१. भारतको राजकीय भ्रमण: प्रधानमन्त्री बालेन्द्र शाहले मंसिर ६ र ७ गते भारतको दुईदिने राजकीय भ्रमण गरी भारतीय नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता गरे।

२. जेनजी शहीद परिवार र घाइतेको पुनर्स्थापना: शहीद परिवार तथा घाइतेको जीवनयापन र सामाजिक सुरक्षासम्बन्धी एकीकृत प्याकेज कार्यान्वयनको समीक्षा गरी बाँकी काम शीघ्र सम्पन्न गर्न निर्देशन।

३. नेपाल जेनजी परिषद् गठनको तयारी: परिषद् गठन तथा सञ्चालनसम्बन्धी आदेशको मस्यौदा तयार गरी सम्बन्धित मन्त्रालयमा रायसुझावका लागि पठाइयो।

४. विपद् व्यवस्थापन कोषमा एक अर्ब: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा निकासा।

५. बजेटको दोहोरोपना हटाउने पहल: संघ, प्रदेश र स्थानीय तहका योजना तथा बजेटबीच दोहोरोपना हटाउन तीन आर्थिक वर्षको तुलनात्मक अध्ययन गर्ने ढाँचा तयार।

६. राष्ट्रिय दूरसञ्चार नीति परिमार्जन: राष्ट्रिय दूरसञ्चार नीति, २०८३ को मस्यौदामाथि विज्ञ तथा सम्बन्धित निकायसँग सुझाव संकलन।

७. सीपमूलक तालिममा सुधार: तालिमको गुणस्तर र प्रभावकारिता बढाउन तथा सरकारी कार्यक्रमबीच दोहोरोपना हटाउन कार्यदल गठन।

८. विदेशी प्रविधि कम्पनीलाई आकर्षित गर्ने तयारी: नेपाललाई सूचना प्रविधि आउटसोर्सिङ र सफ्टवेयर विकासको गन्तव्य बनाउन लगानी सहजीकरण नीतिको तयारी।

९. साइबर सुरक्षा सुदृढीकरण: राष्ट्रिय संवेदनशील सूचना पूर्वाधारको संरक्षणका लागि साइबर सुरक्षासम्बन्धी कार्यशाला आयोजना।

१०. सिंहदरबारको गेटपास प्रणाली सञ्चालन: लामो समयदेखि अवरुद्ध गेटपास प्रणाली प्राविधिक सुधारपछि पुनः सञ्चालन।

११. तल्लो अरुण आयोजनाको ठेक्का आह्वान: जलविद्युत् आयोजनाको पहिलो प्याकेजका लागि ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँको ठेक्का आह्वान।

१२. २३ सार्वजनिक निकायलाई परामर्श: निर्माण तथा परामर्श सेवा खरिदसम्बन्धी विषयमा २३ सार्वजनिक निकायलाई आवश्यक राय तथा परामर्श।

१३. श्रमिकको पारिश्रमिक र सामाजिक सुरक्षा: सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ जारी।

१४. नयाँ ई–जीपी प्रणाली सञ्चालन: नयाँ विद्युतीय सरकारी खरिद प्रणाली सञ्चालनमा ल्याइयो। कात्तिकमा १ हजार ४५२ बोलपत्रदाता र ४९५ सार्वजनिक निकाय दर्ता भए।

१५. अनियमितता अनुगमन र सदाचार कार्यक्रम: चितवन, मकवानपुर र सिन्धुलीमा प्राविधिक टोली परिचालन गरी अनुगमन। विभिन्न जिल्लामा कर्मचारीको आचारसंहिता, सेवा प्रवाह र सेवाग्राही सन्तुष्टिको अवस्था पनि निरीक्षण।

१६. १५ हजार रोपनी जग्गाको उपयोग अध्ययन: नेपाल ट्रष्टको धादिङस्थित छत्रे देउरालीको करिब १५ हजार रोपनी जग्गाको संरक्षण तथा व्यावसायिक उपयोगको सम्भाव्यता अध्ययन गर्न पाँच सदस्यीय समिति गठन।