बिहीबार सेयर बजारमा पुनः गिरावट देखिएको छ। अघिल्लो दिन सामान्य वृद्धि भएको नेप्से परिसूचक आज १०.८९ अंकले घट्दै २ हजार ६३६ अंकमा झरेको हो।
बजार परिसूचकसँगै कारोबार रकममा समेत संकुचन आएको छ। बुधबार ६ अर्ब १४ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बिहीबार घटेर ५ अर्ब ४८ करोड रुपैयाँमा सीमित भएको छ।
आज कारोबार भएका कम्पनीमध्ये ८६ वटाको सेयर मूल्य बढ्दा १७९ कम्पनीको मूल्य घटेको छ भने १४ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन। यसले बजारमा घट्ने कम्पनीको संख्या बढेको देखाउँछ।
लगानी समूहबाहेक सबै समूह राताम्मे
आज कारोबार भएका समूहगत सूचकमध्ये लगानी समूह मात्रै ०.७२ प्रतिशतले बढेको छ। बाँकी सबै समूहमा गिरावट आएको छ।
सबैभन्दा धेरै व्यापार समूह १.५२ प्रतिशतले घटेको छ। त्यस्तै बैंकिङ ०.९३, होटल तथा पर्यटन ०.६२, निर्जीवन बीमा ०.४२, फाइनान्स ०.४१, जीवन बीमा ०.३४, विकास बैंक ०.४८, उत्पादन तथा प्रशोधन ०.१८, अन्य ०.१३ र जलविद्युत् समूह ०.०९ प्रतिशतले घटेका छन्।
युनिक नेपाल लघुवित्तको मूल्यमा सबैभन्दा धेरै वृद्धि
आज युनिक नेपाल लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ४.८८ प्रतिशतले बढेको छ। गार्डियन माइक्रोलाइफको ४ प्रतिशत, हाथवे इन्भेस्टमेन्टको ३.९८ प्रतिशत र एपोलो हाइड्रोपावरको ३.०२ प्रतिशतले मूल्य वृद्धि भएको छ।
यता एभरेस्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै ४.६० प्रतिशतले घटेको छ। सर्वोत्तम पेन्ट्स र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३.४८ प्रतिशत तथा जनउत्थान सामुदायिक लघुवित्तको ३.४१ प्रतिशतले मूल्य घटेको छ।
कारोबारमा कुन कम्पनी अगाडि?
कारोबार रकमका आधारमा हिमालय ऊर्जा विकास कम्पनी पहिलो स्थानमा रहेको छ। त्यसपछि क्रमशः पिपुल्स हाइड्रोपावर, एनआईसी एसिया बैंक, लक्ष्मी सनराइज बैंक, साहस ऊर्जा, ग्लोबल आईएमई बैंक, हाथवे इन्भेस्टमेन्ट र कुमारी बैंक अगाडि रहेका छन्।
