काठमाडौंका नदी किनारबाट विस्थापित भएर नयाँ बसोबासको आशामा होल्डिङ सेन्टरमा दिन बिताइरहेका सुकुम्बासी परिवारमाथि फेरि अर्को संकट थपिएको छ। सरकारले भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीलाई अब दुई दिनभित्रै उक्त स्थान खाली गर्न निर्देशन दिएको छ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले बुधबार सूचना जारी गर्दै मंसिर ११ गते दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न भनेको हो। प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काद्वारा जारी सूचनामा बोडेस्थित कृषि विकास तालिम केन्द्रमा बस्दै आएका सबै परिवारलाई निर्धारित समयभित्र स्थान छाड्न भनिएको छ।
उक्त होल्डिङ सेन्टरमा हाल १९ परिवार बस्दै आएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार तीमध्ये सात परिवारको पुर्ख्यौली थलोमा जग्गा रहेको पाइएको छ भने बाँकी १२ परिवारको नाममा कतै पनि जग्गा नरहेको उल्लेख गरिएको छ।
तर, जग्गा भएका र नभएका दुवै समूहका परिवारलाई एउटै समयसीमा तोक्दै होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिइएको छ।
सरकारले गत वैशाख १२ गते प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा काठमाडौंका नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउने अभियान सुरु गरेको थियो। त्यसक्रममा घरबार छाड्न बाध्य भएका परिवारलाई विभिन्न स्थानका होल्डिङ सेन्टरमा राखिएको थियो।
त्यतिबेला विस्थापित परिवारलाई तीन महिनाभित्रै वैकल्पिक बसोबासको व्यवस्था गरिने आश्वासन दिइएको थियो। तर, महिनौँ बितिसक्दा पनि उनीहरूको स्थायी बसोबासको टुंगो लाग्न सकेको छैन।
अहिले भने नयाँ घरको आशामा बसेका तिनै परिवारलाई होल्डिङ सेन्टरसमेत दुई दिनभित्र खाली गर्न भनिएको छ।
तीन महिनाभित्र घरको व्यवस्था गर्ने आश्वासन पाएका परिवारले अब कहाँ जाने ? बसोबासको विकल्प नदिई होल्डिङ सेन्टरबाट हटाउने सरकारको निर्देशनले विस्थापित परिवारको भविष्य फेरि अन्योलमा परेको छ।

