नेपाल प्रहरीको नेतृत्वलाई लिएर चर्किएको विवादमा सर्वोच्च अदालतले तत्कालका लागि मनोजकुमार केसीकै पक्षमा बाटो खुला गरिदिएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेसँगै केसीलाई आफ्नो जिम्मेवारीमा निरन्तरता दिन सहज भएको छ।
बुधबार न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले गत कात्तिक १८ गते मन्त्रिपरिषद्ले केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न माग गरिएको निवेदन अस्वीकार गरेको हो।
सरकारले दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सल्लाहकार बनाएपछि मनोज केसीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएको थियो। उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै कार्कीले कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
सर्वोच्चले प्रहरी संगठनको नेतृत्व, नियन्त्रण प्रणाली र देशको शान्ति सुरक्षासँग प्रत्यक्ष जोडिएको विषयलाई सार्वजनिक महत्त्वको संवेदनशील मुद्दा मानेको छ। साथै, रिटमा उठाइएका कानुनी प्रश्नहरूको निरुपण अन्तिम सुनुवाइकै क्रममा हुने भन्दै तत्काल केसीलाई जिम्मेवारीबाट रोक्नुपर्ने अवस्था नरहेको ठहर गरेको छ।
अदालतको आदेशसँगै तत्कालका लागि आईजीपी पदमा केसीको जिम्मेवारी कायम रहने भएको छ। तर, यसले नियुक्ति विवादको अन्तिम टुंगो भने लगाएको छैन।
अब के हुन्छ?
सर्वोच्च अदालतले मुद्दाको गम्भीरतालाई ध्यानमा राख्दै विपक्षीहरूबाट लिखित जवाफ प्राप्त भएपछि वा त्यसको म्याद समाप्त भएपछि सात दिनभित्र पेसी तोक्न निर्देशन दिएको छ।
त्यति मात्र होइन, सुनुवाइमा अनावश्यक ढिलाइ नहोस् भन्नका लागि दुवै पक्षलाई पेसी स्थगित गर्न नपाउने पूर्वसूचनासहित सुनुवाइ अघि बढाउन पनि आदेश दिइएको छ।
यससँगै तत्कालका लागि प्रहरी नेतृत्वको विवादमा केसीलाई राहत मिलेको छ भने नियुक्तिको वैधानिकतामाथिको अन्तिम फैसला आउन भने बाँकी नै छ। अब सर्वोच्चको अन्तिम सुनुवाइले यो विवादलाई कस्तो मोड दिन्छ भन्ने चासो बढेको छ।
