मलेसियामा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमाथि भएको संगठित ठगी प्रकरण थप पेचिलो बन्दै गएको छ। यस प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालको समेत संलग्नता देखिएको दाबी गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानका क्रममा अर्यालको कनेक्सन खुलेको उच्च स्रोतले जनाएको छ।
स्रोतका अनुसार अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। तर, अनुसन्धान अघि बढेसँगै उनी सम्पर्कविहीन भएको र हाल फरार रहेको दाबी गरिएको छ।
यस प्रकरणमा सीआईबीले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेपछि घटनाले थप चर्चा पाएको छ। पक्राउ पर्नेमा तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन्।
यसअघि नै सीआईबीले यही प्रकरणमा चार जनालाई पक्राउ गरिसकेको थियो। पक्राउ पर्नेमा कैलाश खड्का, रवीन्द्र केसी, प्रवीण तिवारी र रामपुकार तिवारी रहेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ। पक्राउ परेकाहरूमाथि ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार नेपाल र मलेसियाबीच भएको समझदारीविपरीत नेपाली श्रमिकबाट गैरकानुनी रूपमा रकम संकलन गरिएको थियो। उक्त रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार रुपैयाँ मलेसिया पठाउने निर्णय गरिएको थियो।
सम्झौताको दायरा र कानुनी प्रक्रिया मिचेर अधिकार क्षेत्रभन्दा बाहिर गई विदेशी मुद्रा अपचलन गराउने निर्णयमा संलग्न रहेको प्रहरीको आरोप छ।
वैदेशिक रोजगारीका लागि मलेसिया जाने हजारौँ नेपाली श्रमिकमाथि भएको भनिएको ठगीमा उच्च सरकारी पदाधिकारीदेखि पूर्वमन्त्रीसम्मको नाम जोडिएपछि प्रकरण थप गम्भीर बनेको छ। श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली हुँदा पनि मौन बसेको, कानुनी उपचारका लागि पहल नगरेको र रकम मलेसिया पठाउने निर्णयमा भूमिका खेलेको आरोपमा सीआईबीले अनुसन्धान जारी राखेको छ।
