राति ९ नबज्दै सटर झरेर सुनसान बन्ने काठमाडौँको परम्परागत परिचय अब बदलिने भएको छ । राजधानीलाई चलायमान, आधुनिक र पर्यटकीय हबका रूपमा विकास गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाभरका व्यापार, व्यवसाय र बजार क्षेत्र चौबिसै घण्टा खुला गर्ने रणनीतिक तयारी थालेको छ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलका अनुसार २४सै घण्टा व्यवसाय सञ्चालन गर्नुअघि सहरको सुरक्षा र पूर्वाधारलाई पूर्ण रूपमा बलियो बनाइनेछ। यसअन्तर्गत २४ घण्टे प्रहरी गस्ती, सीसीटीभी निगरानी, उज्यालो सडक बत्ती, रात्रिकालीन सार्वजनिक यातायात, विद्युत, इन्टरनेट र आकस्मिक स्वास्थ्य सेवाको भरपर्दो प्रबन्ध मिलाउने काम भइरहेको प्रशासनले जनाएको छ।
तत्काल भने पुरानै नियम लागू प्रशासनले तयारी थाले पनि व्यवसायीहरूलाई हतार नगर्न आग्रह गरेको छ। सुरक्षा र पूर्वाधारको सम्पूर्ण तयारी पूरा भई अर्को सूचना जारी नभएसम्मका लागि यसअघि खुला गरिएका निश्चित क्षेत्र बाहेक अन्य स्थानमा पुरानै समयसीमा कायम रहनेछ।
प्रशासनको यो योजना सफल भएमा काठमाडौँको रात्रिकालीन अर्थतन्त्र (Night-time Economy) ले फड्को मार्ने, हजारौँ युवाका लागि रोजगारी सिर्जना हुने र विदेशी पर्यटकले काठमाडौँको जीवन्त अनुभव लिन पाउने अपेक्षा गरिएको छ।
