इनमको नाम लिँदै फेसबुकमा स्टाटस लेखेका यशु भोलिपल्ट मृत भेटिए, प्रहरीले बरामद गर्‍यो मोबाइल

१ मंसिर २०८३, सोमबार १५:२७

इनम सापकोटासँग जोडिएको विवादबारे फेसबुकमा लगातार दुईवटा स्टाटस लेखेका झापाका योगेन्द्र खतिवडा (यशु) भोलिपल्ट आफ्नै घरमा मृत फेला परेका छन्। उनको मृत्युपछि घटनासँग जोडिएका विभिन्न विषयमाथि प्रश्न उठिरहेका बेला प्रहरीले अनुसन्धानका लागि उनको मोबाइल फोन बरामद गरेको छ।

कनकाई नगरपालिका–३ का ४३ वर्षीय खतिवडाले शनिबार (कात्तिक २८ गते) फेसबुकमा स्टाटस लेख्दै इनमको मोबाइलबाट आएको भनिएको ह्वाट्सएप म्यासेज आफ्नो परिवार र निर्दोष बुबालाई फसाउन अरू कसैले रचेको नाटक भएको दाबी गरेका थिए।

उनले उक्त स्टाटसमार्फत परिवारको कुनै दोष नरहेको र गल्ती आफूबाट भएको उल्लेख गर्दै सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका आरोपहरू सत्य नभएको बताएका थिए।

त्यसको भोलिपल्ट आइतबार बिहान ५:३२ बजे उनले फेरि अर्को स्टाटस लेखे। ‘मेरो गल्तीको सजाय मेरो परिवारलाई नदिनु होला। म आफूले आफैँलाई सजाय दिने छु,’ उनले लेखेका थिए।

उक्त स्टाटस लेखेको करिब दुई घण्टापछि बिहान ७:३० बजे उनी आफ्नै घरको दोस्रो तलास्थित कोठामा मृत अवस्थामा फेला परेका थिए।

उनको मृत्युसँगै बिचौलियाको आरोपमा हिरासतमा रहेका इनम सापकोटासँगको सम्बन्ध र ह्वाट्सएप म्यासेजको विषय थप चासोको विषय बनेको छ। खतिवडाले नै आफ्नो स्टाटसमा इनमको मोबाइलबाट म्यासेज आएको उल्लेख गरेपछि प्रहरीले यस विषयलाई समेत अनुसन्धानको दायरामा राखेको छ।

अनुसन्धानका लागि प्रहरीले बरामद गर्‍यो मोबाइल

आइतबार खतिवडाको मोबाइल फेला परेको थिएन। तर, प्रहरीले सोमबार बिहान उनको घरबाटै मोबाइल बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकले मोबाइल बरामद गरिएको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

उनका अनुसार बरामद मोबाइल थप परीक्षणका लागि प्रहरी प्रधान कार्यालयस्थित फरेन्सिक ल्याबमा पठाउने तयारी भइरहेको छ। मोबाइलमा रहेका विवरण र डिजिटल प्रमाणको परीक्षणपछि घटनासँग सम्बन्धित थप तथ्य खुल्न सक्ने प्रहरीको अपेक्षा छ।

इनम सापकोटासँग खतिवडाको सम्बन्ध रहेको भन्दै सामाजिक सञ्जालमा विभिन्न विवरण सार्वजनिक भएका थिए। विशेषगरी इनमसँग खतिवडाको परिवारको कुराकानी भएको विषय चर्चामा आएको थियो। उक्त विषय सार्वजनिक भएपछि सापकोटाले फेसबुकमार्फत त्यसको खण्डन गरेका थिए।

यद्यपि, इनम र खतिवडाबीचको सम्बन्ध तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका विवरणहरूको आधिकारिक पुष्टि भइसकेको छैन। प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

दुई वर्षपछि फेसबुकमा लेखेका थिए लगातार दुई स्टाटस

खतिवडा पछिल्लो दुई वर्षदेखि फेसबुकमा खासै सक्रिय देखिएका थिएनन्। पछिल्ला दुई स्टाटस लेख्नुअघि उनले आफूले सञ्चालन गर्दै आएको ‘भिजन सिनेमाटोग्राफी स्टुडियो’को एउटा पोस्ट मात्रै शेयर गरेका थिए।

लामो समयपछि एकैपटक परिवारमाथि लागेका आरोपबारे स्पष्टीकरण दिँदै उनले लगातार दुई स्टाटस लेखेका थिए। ती स्टाटस सार्वजनिक भएको भोलिपल्टै उनको मृत्यु भएपछि घटनाले थप रहस्य सिर्जना गरेको छ।

कनकाई नगरपालिका–३ का वडाध्यक्ष युवराज चम्लागाईका अनुसार खतिवडाको घर कालिकास्थानमा पर्छ। घरबाट करिब पाँच किलोमिटर टाढा कनकाई नगरपालिका–८, लक्ष्मीपुरमा उनले फोटो स्टुडियो सञ्चालन गर्दै आएका थिए। उनी अविवाहित थिए।

वडाध्यक्ष चम्लागाईले खतिवडाको मोबाइलमा मृत्युबारे केही विवरण लेखिएको जानकारी दिएका छन्। उनका अनुसार मोबाइलमा भेटिएको सन्देशमा कसैलाई दोष लगाइएको छैन।

‘मोबाइलमा म्यासेज पनि भेटिएको छ। दोष कसैमाथि लगाइएको छैन,’ उनले देशसञ्चारसँग भनेका छन्।

खतिवडाको शव भद्रपुर अस्पतालमा पोस्टमार्टम गरेपछि परिवारले बुझिसकेको डीएसपी पाठकले जानकारी दिएका छन्।

प्रहरीले अहिले खतिवडाले फेसबुक स्टाटसमा उल्लेख गरेको इनम सापकोटाको नाम, ह्वाट्सएप म्यासेज तथा मोबाइलमा भेटिएका विवरणलाई आधार बनाएर अनुसन्धान गरिरहेको छ। मोबाइलको फरेन्सिक परीक्षणपछि घटनासँग जोडिएका थप तथ्य सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ। घटना र त्यससँग सम्बन्धित आरोपहरूबारे भने प्रहरी अनुसन्धानको निष्कर्ष आउन बाँकी छ।