बडादशैंअघिको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ८.२३ अंकले बढेर २६३४.१७ बिन्दुमा पुगेको छ।
दशैंको बिदा सुरु हुनुअघि बजार सकारात्मक लयमा बन्द भएको हो। बिहीबार ३४८ कम्पनीका १ करोड ३३ लाख ७६ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८८ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज कारोबार भएका कम्पनीमध्ये १७४ कम्पनीको सेयर मूल्य बढ्दा ९१ कम्पनीको मूल्य घटेको छ।
कमाउने कम्पनीहरूमा चिरख्वा हाइड्रो, बेनी हाइड्रोप्रोजेक्ट, शुभम पावर र एभरेष्ट कलर अगाडि देखिएका छन्। यता हिमालयन एभरेष्ट इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स र मन्जुश्री फाइनान्सका लगानीकर्ताले भने मूल्यमा गिरावट सामना गर्नुपरेको छ।
उपसमूहतर्फ वित्त, लगानी, निर्जीवन बीमा, अन्य र व्यापार समूहका सूचक घट्दा बाँकी अधिकांश समूहमा हरियाली छाएको छ।
दशैंअघिको अन्तिम कारोबार सकारात्मक बनेसँगै अब बिदापछि खुल्ने बजारले कस्तो गति लिन्छ भन्नेमा लगानीकर्ताको चासो रहनेछ।
