दसैँको सन्देशमा पूर्वराजा ज्ञानेन्द्र शाहको चिन्ता : देश अन्योल र अलमलको भूमरीमा !

३० आश्विन २०८३, शुक्रबार १३:२४

पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैँ २०८३ को शुभकामना सन्देश जारी गर्दै देशको वर्तमान समग्र अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। निर्मल निवासस्थित संवाद सचिवालयमार्फत सार्वजनिक गरिएको सन्देशमा उनले नेपालको राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक, प्रशासनिक तथा व्यावसायिक क्षेत्रहरू गम्भीर अन्योल र अलमलको भूमरीमा फसेको टिप्पणी गरेका हुन्। देश किन यस्तो अस्तव्यस्त स्थितिमा पुग्यो भन्नेबारे प्रश्न उठाउँदै उनले राज्य प्रणालीलाई सही दिशामा अघि बढाउन, प्रजातान्त्रिक आधारलाई मजबुत बनाउन र खस्कँदो अर्थतन्त्रलाई उकास्न सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।

शुभकामना सन्देशका क्रममा पूर्वराजा शाहले प्रजातान्त्रिक विधि र प्रक्रियालाई सुदृढ बनाउँदै राष्ट्रियता र मौलिक मूल्य-मान्यतालाई जोगाउनुपर्ने आवश्यकता औंल्याएका छन्। साथै, राज्य सञ्चालनको बागडोर सम्हाल्न आइपुगेको नयाँ पुस्ताले देशवासीको मुहारमा खुसी ल्याउनेछ भन्ने आशासमेत उनले व्यक्त गरेका छन्। खुसी र शुभकामना आदानप्रदानका बीच उनले हालैका दिनमा देशले व्यहोर्नुपरेको प्राकृतिक विपत्तिप्रति गहिरो दुःख प्रकट गरे। गत भदौमा भोटेकोशीमा आएको भीषण बाढी तथा असोजको अविरल वर्षा र बुढीगण्डकीको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्दै उनले प्राकृतिक विपद्बाट हुने नोक्सानी न्यूनीकरणका लागि पूर्वतयारी र सावधानी अपनाउनुपर्ने बताए।

क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण र पीडित नागरिकको शीघ्र पुनःस्थापनालाई प्राथमिकतामा राख्न आग्रह गर्दै पूर्वराजाले बाह्य सहयोग परिचालन गर्दा राष्ट्रिय स्वाभिमान र स्थानीय परम्परा जोगाउन कूटनीतिक चातुर्य अपनाउनुपर्ने सुझाव दिएका छन्। नेपाल केवल एउटा भूगोल मात्र नभई हाम्रो साझा इतिहास, आस्था, संस्कृति, परम्परा र पहिचान भएको उल्लेख गर्दै उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकता दिन देशवासीलाई आह्वान गरेका छन्। कठिन परिस्थितिमा एकअर्कालाई साथ दिँदै विभाजित नभई एकताबद्ध, परनिर्भर नभई आत्मनिर्भर र कमजोर नभई सबल तथा सक्षम नेपाल निर्माणको सोच सबैमा जागृत हुनुपर्ने उनको शुभकामना सन्देशको मुख्य सार रहेको छ।