यसपालि मुस्ताङका बगैँचाहरू रसिलो स्याउले राताम्मे भए, उत्पादनले पनि नयाँ उचाइ लियो। तर, चाडपर्वको मुखैमा परेको प्राकृतिक विपत्ति र कमजोर सडक पूर्वाधारका कारण यहाँका किसान र व्यापारीको अनुहारमा खुसीभन्दा बढी चिन्ता छाएको छ।
गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र नदी कटानले बेनी–जोमसोम सडकखण्ड लगातार दुई साता ठप्प बन्यो। स्याउ बजार पठाउने मुख्य याममै पर्यटकीय तथा व्यापारिक राजमार्ग बन्द भएपछि कृषि प्रधान मुस्ताङको अर्थतन्त्र नराम्ररी प्रभावित हुन पुगेको छ।
७० प्रतिशत पुग्नुपर्ने बजारमा ३० प्रतिशत मात्रै!
सामान्यतया दसैँको सँघारसम्म मुस्ताङमा उत्पादित कुल स्याउको ७० प्रतिशत हिस्सा देशभरका बजारमा पुगिसक्नुपर्ने हो। तर, लामो समय सडक अवरुद्ध हुँदा हालसम्म ३० प्रतिशत स्याउ मात्रै जिल्लाबाहिर निकासी हुन सकेको छ। बाँकी १० प्रतिशत स्याउ भने स्थानीयस्तरमै खपत हुने गर्छ।
कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डा. लालमणि अर्याल भन्छन्—
“यस वर्ष स्याउ उत्पादन सोचेभन्दा धेरै राम्रो भयो। तर, मुख्य बिक्री हुने समयमै दुई साता सडक बन्द भइदिँदा किसान र व्यापारीलाई बिक्री तथा व्यवस्थापन गर्न ठूलो सास्ती भएको छ।”
तथ्याङ्कमा मुस्ताङको स्याउ
-
अनुमानित उत्पादन: १०,००० मेट्रिक टन (गत वर्ष: ७,००० मेट्रिक टन)
-
अनुमानित कुल कारोबार: करिब रु. २ अर्ब
-
हालसम्म बजार निकासी: ३०% (हुनुपर्ने ७०%)
-
स्थानीय खपत: १०%
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मुस्ताङका प्रमुख भरत गौतमका अनुसार उत्पादन बढेकाले यसपालि झन्डै रु. २ अर्ब बराबरको स्याउ बिक्री हुने अनुमान छ। तर, सडकको सास्तीका कारण यो रकम समयमै सुरक्षित गर्न मुस्किल परिरहेको छ।
जोखिम मोलेरै भए पनि बजार पठाउने चटारो
मुस्ताङमा उत्पादित स्याउ हरितालिका तीजदेखि बडादसैँसम्म सबैभन्दा बढी खपत हुन्छ। जिल्लास्तरीय बोर्डको निर्णयअनुसार छिटो पाक्ने स्याउ भदौ १५ र ढिलो पाक्ने स्याउ भदौ २२ गतेदेखि नै टिप्ने व्यवस्था मिलाइएको थियो।
अहिले बेनी-जोमसोम सडक मर्मतपछि सञ्चालनमा आए पनि पूर्ण रूपमा सहज भइसकेको छैन। तर, फल कुहिएर जाने र बिक्रीको मुख्य सिजन नै घर्कने डरले किसानहरू जोखिम मोलेरै धमाधम स्याउ टिपेर ट्रकमा लोड गर्न थालेका छन्।
घरपझोङ–५ ढुम्बास्थित चिम्ले अचार्ड कृषि फार्मका व्यवस्थापक आइतराम तामाङका अनुसार बाटो खुल्नेबित्तिकै दुई दिनभित्रै छ ट्रक स्याउ काठमाडौँ पठाइसकिएको छ।
सडक सञ्जाल पूर्ण रूपमा सुचारु भई मुस्ताङका पाँचै स्थानीय तहमा उत्पादित स्याउ छिट्टै देशभरका बजार र उपभोक्ताको भान्सासम्म पुग्ने आशामा यतिबेला किसानहरू दिनरात नभनी खटिरहेका छन्।
