गोरखास्थित बूढीगण्डकी नदीमा आएको भीषण बाढीले नदी तटीय क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुर्याएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को प्रारम्भिक विवरणअनुसार बाढीका कारण चारवटा जलविद्युत् आयोजनाका मुख्य क्याम्प, पुल, निर्माण सामग्री तथा महत्त्वपूर्ण उपकरणहरू बगेका छन्।
बाढीले क्षति पुर्याएका आयोजनाहरू:
-
३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना:
टाइम्स इनर्जी प्रालिद्वारा प्रवर्द्धित यस आयोजनाको मुख्य क्याम्प क्षेत्र नै बाढीले बगाएको छ। साथै, निर्माणस्थलमा राखिएका कैयौँ महत्त्वपूर्ण उपकरणहरू पनि नदीले बगाएको छ।
-
३०.५९ मेगावाटको यारु खोला जलविद्युत् आयोजना:
बाढीले आयोजनाको बेलिब्रिज पूर्ण रूपमा बगाएको छ भने निर्माण सामग्री तथा भारी उपकरणहरूमा ठूलो क्षति पुर्याएको छ।
-
१६ मेगावाटको माछाखोला जलविद्युत् आयोजना:
आयोजनास्थल जोड्ने पहुँच सडक, मुख्य पुल तथा बेलिब्रिजमा बाढीले व्यापक क्षति पुर्याएको छ, जसका कारण निर्माणस्थलसम्मको आवतजावत प्रभावित भएको छ।
-
२४.५ मेगावाटको दोभान खोला जलविद्युत् आयोजना:
आयोजनाको क्याम्प क्षेत्रमा रहेका घरहरूमा बाढी पसेर भौतिक क्षति पुगेको छ।


