नेपाली कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा उमेशचन्द्र यादवको उम्मेदवारी

१९ आश्विन २०८३, सोमबार १७:४१

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उमेशचन्द्र यादवले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। यादवले मधेसीतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्।प्रतापपुर गाउँपालिका, नवलपरासीका अध्यक्षसमेत रहेका यादव लुम्बिनी प्रदेश महासंघका उपाध्यक्ष तथा उखु उत्पादक महासंघका केन्द्रीय सदस्यका रूपमा समेत सक्रिय रहेको प्रचार सामग्रीमा उल्लेख गरिएको छ।यादवले नेपाली कांग्रेसभित्र राष्ट्रियता, लोकतन्त्र, समाजवाद र समृद्ध नेपालको पक्षमा आफू प्रतिबद्ध रहेको बताएका छन्। साथै, किसान, श्रमिक तथा सीमान्तकृत समुदायका मुद्दालाई पार्टीको मूलधारमा थप प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता उनको उम्मेदवारीसँग जोडिएको छ।स्थानीय तहको नेतृत्व तथा विभिन्न सामाजिक,संगठनात्मक भूमिकामा रहँदै आएका यादवले पार्टी संगठनलाई थप जनमुखी, समावेशी र प्रभावकारी बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्।
उनको उम्मेदवारीसँगै मधेसी समुदाय तथा स्थानीय तहमा सक्रिय कांग्रेस कार्यकर्ताबीच उनको पक्षमा समर्थन जुटाउने प्रयाससमेत तीव्र बनेको छ।यादवले महाधिवेशन प्रतिनिधिहरूसँग आफूलाई अमूल्य मत, साथ र समर्थन प्रदान गरी विजयी गराउन अपिल गरेका छन्।नेपाली कांग्रेसमा सशक्त आवाज, बलियो कांग्रेस र समृद्ध नेपालको निर्माण”लाई आफ्नो राजनीतिक प्रतिबद्धताको आधार बनाउँदै यादव चुनावी मैदानमा उत्रिएका छन्।